नयाँ वर्ष मनाउन रामेछापको शैलुङ लगायतका स्थानमा आन्तरिक पर्यटकको उत्साहजनक आगमन

  • प्रकाशित मिति: शनिबार, बैशाख १ २०८१
  • तामाकोशी

दोलखा । रामेछाप जिल्लाको धार्मिक एवम् पर्यटकीय स्थलहरूमा नेपाली नयाँ वर्ष २०८१ सालको पहिलो दिन आन्तरिक पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । नयाँ वर्ष मनाउन रामेछापको शैलुङ, खाँडादेवी मन्दिर, थानापति महादेव, ताँवे डाँडा लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूमा नयाँ वर्षको अघिल्लो दिनबाटै धेरै आन्तरिक पर्यटक घुम्न र दर्शन गर्न पुगेका छन् । नयाँ वर्षको दिन रामेछाप सदरमुकाम मन्थली आसपासका ठाउँहरू विटार पार्क, आकाशे पुल लगायत तामाकोशी किनारमा पनि मानिसहरू घुम्न र रमाउन बाक्लै पुगेका छन् । पछिल्लो समय रामेछापको शैलुङ, खाँडादेवी माईको मन्दिर, थानापति महादेव, ताँवे डाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेका छन् । रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङमा रहेको सय थुम्का, ग्रेट वालका अलावा शैलुङ्गेश्वर महादेव, बौद्ध छ्योर्तेन लगायतका थुप्रै धार्मिक तथा पर्यटकीय स्थलले शैलुङ क्षेत्रको महत्त्व अझ बढाएको छ । जसका कारण शैलुङ घुम्न र यहाँको वातावरणसँग रमाउन टाढा टाढाबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन् । अन्य वर्ष भन्दा यो वर्षको नयाँ वर्षमा शैलुङ घुम्न र यहाँको वातावरणसँग रमाउन आउने आन्तरिक पर्यटकहरू वृद्धि भएको शैलुङका स्थानीय दावासाङ्बु शेर्पाले बताउनुभयो ।