बाली, इन्डोनेसिया। इन्डोनेसियाको बालीमा नोभेम्बर ३ देखि ५ सम्म आयोजित एसिया–प्रशान्त संसदीय स्वास्थ्य तथा अर्थ समिति सभापतिहरूको बैठकमा नेपालले दिगो स्वास्थ्य वित्तपोषण, नीतिगत सुधार र क्षयरोग नियन्त्रणमा जोड दिएको छ।
बैठकमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकी र स्वास्थ्य तथा शिक्षा समितिका सभापति डा. ओजस्वी श्रेष्ठले नेपालको स्वास्थ्य प्रणालीका चुनौती तथा सुधारका प्राथमिकताबारे धारणा राख्नुभएको थियो। बैठकमा कन्सल्टेन्ट मधुसुदन काफ्ले र रञ्जिता धितालको पनि सहभागिता थियो।
बैठकमा बोल्दै सभापति डा. बुढाथोकीले स्वास्थ्य क्षेत्रको प्रभावकारिता बजेटको आकारमा मात्र नभई उपलब्ध स्रोतको उचित विनियोजन, पारदर्शी उपयोग र संस्थागत समन्वयमा निर्भर रहने बताउनुभयो। उहाँले घरेलु स्रोत परिचालन, स्वास्थ्य बजेटको प्रभावकारी कार्यान्वयन र संसदीय निगरानीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
क्षयरोग नियन्त्रणबारे उहाँले नेपालमा अझै धेरै बिरामी पहिचान तथा नियमित प्रतिवेदन प्रणालीबाहिर रहेको उल्लेख गर्दै छुटेका बिरामीको खोजी, परीक्षण, उपचार र नियमित रिपोर्टिङ सुनिश्चित गर्न संसद्, सरकार तथा स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
क्षयरोग नियन्त्रण स्वास्थ्य क्षेत्रको विषय मात्र नभई सामाजिक न्याय, आर्थिक सुरक्षा र मानव विकाससँग समेत जोडिएको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणमा राज्यका सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, स्वास्थ्य तथा शिक्षा समितिका सभापति डा. श्रेष्ठले प्राथमिक स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय उपचार, रोगको समयमै पहिचान र दुर्गम तथा विपन्न समुदायसम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभयो।
बैठकमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशका संसदीय प्रतिनिधिहरूले स्वास्थ्य प्रणालीको सुदृढीकरण, क्षयरोग तथा फोक्सोको स्वास्थ्य, आधुनिक प्रविधिको प्रयोग, दिगो वित्तपोषण र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरेका थिए।