रामेछापमा अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु: विजेतालाई दुई लाख पुरस्कार

  • प्रकाशित मिति: शनिबार, कार्तिक २२ २०८३
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा जिल्ला अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न वडाका २५ टोली सहभागी छन् । प्रतियोगिता कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।
मन्थली नगरपालिका–८ खेलकुद विकास समितिको आयोजनामा तथा वडा कार्यालयको मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढुङ्गेलले खेलकुदले प्रतिस्पर्धासँगै आपसी सम्मान, सद्भाव र सहकार्यको भावना विकास गर्ने बताए । खेलकुदमा हार्नेले जित्नेलाई बधाई दिने र जित्नेले हार्नेलाई सम्मान गर्ने उत्कृष्ट संस्कार रहेको उल्लेख गर्दै उनले यस्तो संस्कार राजनीतिक क्षेत्रमा पनि आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सीताराम कार्की र नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विफा घिसिङलगायतले खेलकुदको महत्व तथा खेलाडीको क्षमता विकासबारे धारणा राखेका थिए ।
आयोजक समितिका अध्यक्ष सुबम श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता टोलीले दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख, तेस्रो हुने टोलीले ५० हजार र सान्त्वना हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र प्रशिक्षकलाई जनही दुई हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
स्थानीयस्तरमा खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा प्रोत्साहन र जिल्लाका विभिन्न वडाबीच आपसी सम्बन्ध एवं सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले बताए ।