प्रधानमन्त्री देउवालाई आफ्नै गृहजिल्लाको चुनावी परिणामले धक्का

  • प्रकाशित मिति: शुक्रबार, असार १६ २०७४
  • तामाकोसी खबर
१६ असार, डडेल्धुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लाको चुनावी परिणामले धक्का दिएको छ । देउवाको गृहनगर डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेको छ ।
अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । अमरगढी जिताउन देउवा यसपटक एक साता मुकाम बनाएर बसेका थिए ।
एमालेले अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि विजय उत्सव मनाउन थालिसकेको छ । निर्वाचन कार्यालयले अन्तिम मत परिणाम औपचारिक घोषणा गरिसकेको छैन ।दोस्रो चरणमा चुनाव भएका १११ नगरपालिकामध्ये एमालेले अमरगढी जितेर नगरपालिकातर्फ विजयी शुरुवात गरेको छ ।