गठबन्धनलाई पराजित गर्ने गरी लाग्न नेता कार्यकर्तालाई एमाले नेता पोखरेलको निर्देशन

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले राष्ट्रको रक्षाका लागि एमालेले चुनाव जित्नै पर्ने बताउनुभएको छ । नेकपा एमाले रामेछापको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार मन्थलीमा सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताउनुभएको हो । एमालेका पोलिटब्युरो सदस्य पोखरेलले जस्तोसुकै असहज अवस्थामा पनि नेकपा एमालेले नेपालको सार्वभौमसत्ता, अखण्डता र रष्ट्रियताको विषयलाई कमजोर बन्न नदिने बताउनुभयो । नेता पोखरेलले स्थानीय तह निर्वाचन एमालेका उम्मेदवारले जित्नै पर्ने बताउनुभयो । उहाँले गठबन्धनलाई पराजित गर्ने गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । स्थानीय तह निर्वाचन एमालेले जित्नु भनेको प्रदेश र केन्द्रको निर्वाचन जित्नको लागि आधार बनाउनु भएको उहाँले बताउनुभयो । यो निर्वाचन जित्नु भनेको नेपालको सार्वभौमसत्ता रक्षा गर्नु र कालापानीबाट भारतीय सेना भगाउनु पनि उहाँले बताउनुभयो । अहिले देशको अवस्था आर्थिक तथा राष्ट्रिय अखण्डताको हिसाबले समेत असुरक्षित रहेको उहाँले बताउनुभयो । देश चरम आर्थिक संकटमा फसेको र देशको सिमाना खुल्ला रूपमा मिचिएको उहाँले उदाहरण प्रस्तुत गर्नुभयो । यस्तो अवस्थामा पनि गठबन्धन सरकार गम्भीर नभएको उहाँले बताउनुभयो ।