आयोजना निर्माणको कामलाई प्रभावित पार्ने माझी समुदायको चेतावनी

  • प्रकाशित मिति: शुक्रबार, माघ ३० २०७७
  • तामाकोशी

रामेछाप । माघ ३० गते,
तामाकोसी र सुनकोसी नदीको सङ्गममा बन्न लागेको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावितहरुले रोजगारी, स्वास्थ्य, शिक्षा र संस्कृतीको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् । आयोजना प्रभावित क्षेत्रका माझी समुदायले जग्गाको मुअब्जा बितरण गर्दा पनि एकरुपता कायम हुने गरी काम गर्नुपर्ने माग गरेका छन् । रामेछाप सदरमुकाम मन्थलीमा महिला सञ्जाल नेपालको अन्तरक्रिया कार्यक्रममा आयोजना प्रभावित क्षेत्रका माझी समुदायले यस्तो माग गरेका हुन् । आफुहरुको मागलाई आयोजनाले वेवास्ता गरेमा आयोजना निमार्णको कामलाई प्रभावित पार्ने उनीहरुले चेतावनी समेत दिएका छन् । पाँच वर्षभित्र आयोजना निर्माण गरि तराईका पाँच जिल्लामा पर्ने एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य सरकारको रहेको छ । १३ किलोमिटर लामो र पाँच दशमलव पाँच मिटर चौडाइको सुरुङ टीबीएमको प्रयोग गरी छोटो अवधिमा खनिसक्ने लक्ष्य आयोजनाले लिएको छ । यो आयोजना बने जिल्लाको मन्थली नगरपालिका वडा नं ६ र खाँडादेवी गाउँपालिका वडा ४ अन्तर्गत पर्ने ३९१ घर परिवारका ५९२ रोपनी जमिन नोक्शान हुनेछ । करिब ४६ अर्ब लागत अनुमान गरिएको आयोजनाको सिन्धुलीको सुनकोसी गाउँपालिका र गोलन्जोर गाउँपालिकाको सिमाना खुर्कोटमा बाँध निर्माण गरेर १३ किलोमिटर सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुुसुमटारमा पानी झारेर मरिण खोला हुँदै बाग्मती नदीमा मिसाइने बताइएको छ ।