काठमान्डौं । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमको लाभ लिनबाट रामेछापका अधिकांश नागरिक वञ्चित भएका छन् । कार्यक्रम सुरु भएको दुई वर्ष बितिसक्दा रामेछापका सबै नागरिकको पहुँचमा कार्यक्रम पुगेको छैन । अझै ९० प्रतिशतले स्वास्थ्य बिमा गराएका छैनन् ।
रामेछापमा करिब ५० हजार घरधुरी छन् भने दुई लाख २५ हजार जनसंख्या छ । तर, हालसम्म जम्मा सात हजार ६ सय २५ परिवार मात्र स्वास्थ्य बिमाको पहुँचमा छन् । सरकारले सामाजिक स्वास्थ्य विकास समितिमार्फत आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउन कार्यक्रम लागू गरेको हो । तर, रामेछापमा कार्यक्रम प्रभावकारी हुन नसकेको छैन । एउटा परिवारका पाँचजना सदस्यसम्म वार्षिक तीन हजार पाँच सय रुपैयाँ बिमा शुल्क बुझाउँदा बिरामी परेको बखत स्वास्थ्य संस्थाबाट एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार हुने गरेको छ । पाँचजना सदस्य संख्याभन्दा बढी सदस्य रहेको परिवारको हकमा भने ७ सय रुपैयाँ अतिरिक्त रकम तिर्नुपर्ने हुन्छ ।
रामेछापमा बिमा कार्यक्रम लागू भएयता सात हजार ६ सय २५ परिवारका २३ हजार ९८ जना स्वास्थ्य बिमाको पहुँचभित्र छन् । तीमध्ये १२ हजार दुई सय दुईजना पुरुष र १० हजार आठ सय १६ जना महिला रहेको स्वास्थ्य बिमा बोर्ड रामेछापका दर्ता अधिकारी यज्ञराज ढुंगेलले जानकारी दिए । रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका छन् । तीमध्ये सबैभन्दा बढी बिमितको संख्या मन्थली नगरपालिकामा छ । मन्थलीमा सात हजार ६ सय ९९ जना, रामेछाप नगरपालिकामा एक हजार सात सय १९ जनाले बिमा गराएका छन् । त्यसैगरी, उमाकुण्ड गाउँपालिकामा एक हजार नौ सय १८ जना, गोकुलगंगा गाउँपालिकामा दुई हजार एक सय ९९ जना र लिखु तामाकोसी गाउँपालिकामा एक हजार सात सय ८२ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
त्यसैगरी, स्वास्थ्य बिमा गराउनेमा दोरम्बा गाउँपालिकामा दुई हजार पाँच सय ३६ जना, सुनापति गाउँपालिकामा तीन हजार सात सय ४६ जना र खाँडादेवी गाउँपालिकामा एक हजार चार सय ९९ जनाले स्वास्थ्य बिमा गराएका छन् । बिमा गराउनेमा ७० वर्ष उमेर काटेका दुई हजार ४५ जना छन् । ज्येष्ठ नागरिकलाई बिमा गर्दा कुनै पनि शुल्क नलाग्ने भए पनि स्वास्थ्य बिमाप्रति चासो नदिँदा संख्या बढ्न सकेको छैन । स्थानीयले भने स्वास्थ्य बिमा बोर्डले जनचेतनामूलक कार्यक्रम गरी बिमाप्रति आकर्षण गराउन नसकेको गुनासो गरेका छन् । कतिपयले भने स्वास्थ्य बिमा गरे पनि बिरामी परेर उपचार गराउन जाँदा निःशुल्क पाउनुपर्ने उपचार सेवा र औषधिसमेत नपाउने भएकाले पनि बिमाप्रति आकर्षण बढ्न नसकेको बताएका छन् । आजको नयाँपत्रिकामा खबर छ ।