रामेछापमा भदौ १८ गते मध्यरातसम्म निषेधाज्ञा : नाकामा थप कडाई

  • प्रकाशित मिति: बिहिबार, भाद्र ११ २०७७
  • तामाकोशी

रामेछाप । भदौ ११ गते,
रामेछापमा जारी निषेधाज्ञा पाँच दिन थप गरिएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिमता भढ्दै गएको भन्दै जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहिबारको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस अघि जिल्लामा यहि भदौ १३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । बैठकले त्यसलाई लम्ब्याएर भदौ १८ गते राती १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला संकट ब्यवस्थापन केन्द्रकी संयोजक रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले यस अघि बिहान ९ बजे सम्म खुल्ला गरिएको बजारलाई बढाएर बिहान ११ बजे सम्म खोल्न दिने र अत्यावश्यक बाहेकका अन्य पसल खुल्ला गर्न पनि सहजिकरण गर्ने लगाएतका १० बुँदे निर्णयहरु भएका छन् । बैठकले जिल्लाको विभिन्न नाकामा चेकजाँचलाई थप कडाई गर्ने र सवारी साधन तथा मानिसको आवागमनलाई कडाई गरी काठमाण्डौ उपत्यका लगायत उच्च संक्रमण भएका जिल्लाबाट आउने व्यक्तिहरुलाई १४ दिन सम्म होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन सबै पालिकाहरुलाई अनुरोध गर्ने पनि निर्णय भएको छ । जनस्वास्थ्यका लागि पालना गर्नुपर्ने मापदण्डहरु विभिन्न स्वास्थ्य प्रोटोकलहरु,संक्रमणको सूचना दिने, संक्रमितलाई उपचारमा ल्याउने, सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने विषयहरु,संक्रमणपछि ध्यान दिनुपर्ने विषयहरु,रोगको संक्रमणबाट जोगिन र संक्रमण भए शिघ्र स्वास्थ्य लाभ गर्न गर्नुपर्ने र गर्न नहुने विषयहरु सम्बन्धमा सूचना संप्रेषण तथा जनचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । रामेछापमा हालसम्म ३७ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भैसकेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म रामेछाप स्थायी घर भै विभिन्न ठाउँमा बसोबास गर्ने ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा अहिले १ जना महिला र १५ जना पुरुष गरि १६ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ४ बेडको आइसोलेशन कक्ष र ५सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले गरेको निर्णयहरु हेर्नुहोस