रामेछाप । भदौ ९ गते,
रामेछापमा कोरोना भाइरस कोभिड १९ संक्रमणको जोखिमता बढेपछि सवारी चेक जाँचमा थप कडाई गरिएको छ । निषेधाज्ञाको समयमा पनि सदरमुकाम मन्थलीमा अनावश्यक रुपमा मोटरसाइकल आवागमन बढेको भन्दै ट्राफिक प्रहरीले चेक जाँचमा थप कडाइ गरेको हो । मंगलबार अनावश्यक कामका लागि हिडेका झण्डै ५० भन्दा बढी मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले निषेधाज्ञाको समयमा अनावश्यक रुपमा संचालन भएका मोटरसाइकलमाथि निगरानी बढाइएको बताउनुभयो । उहाँले मंगलबार निषेधाज्ञाको अवज्ञा गरि गुडेका ५० वटा मोटरसाइकललाई ३ घण्टा नियन्त्रणमा लिएर छाडिएको बताउनुभयो । निषेधाज्ञाको मतलब नगरि अनावश्यक रुपमा मोटरसाइकल कुदाउँनेहरु धेरै छन् , मंगलबार उनीहरुलाई सम्भाई बुझाई छाडेका छौ , अब भोलीबाट अनावश्यक कामका लागि गुड्ने सवारी साधनहरुलाई जरिवाना गर्छाै ट्राफिक प्रहरी प्रमुख पाण्डेले तामाकोशी अनलाइनसंग भन्नुभयो । प्रहरीले अत्यावश्यक कामकालागि परिचयपत्र लिएर हिडेका विभिन्न सरकारी कार्यलय, बैक तथा बित्तिय संस्थाका कर्मचारी, सुरक्षा कर्मी र सञ्चारकर्मी बाहेकका सवारीलाई नियन्त्रणमा लिएको छ । रामेछापको मन्थली नगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जिल्लाभर भदौ १३ गते शनिबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
ट्राफिक प्रहरीले गरेको चेकजाँचको थप तस्वीर हेर्नुहोस्

