रामेछाप । भदौ ७ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिकाका ७९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमित मन्थली नगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीका परिवार सहित उनको सम्पर्कमा आएका सबै ७९ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका अनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यसअघि मन्थली नगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिएको भन्दै जिल्लाभर त्रास बढेको थियो । रामेछाप जिल्लाबासी मन्थली नगरपालिकाभित्रका ७९ जना सहित १ सय ३३ जनाको रिपोर्टको प्रतिक्षामा थिए । शनिबार साँझ मन्थली नगरपालिकाको ७९ जनाकै पीसीआर विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार अब विभिन्न समयमा गरी स्वाब पठाइएका ६८ जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकि छ । जिल्लामा अहिलेसम्म ९ सय १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ३३ जना मध्ये ३१ जनाले कोरोनालाई जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । अहिले मन्थली नगरपालिकाको आइसोलेशनमा २ जनाको उपचार भैरहेको छ । शनिबार मन्थली नगरपालिकाका थप ४ जना र खाँडादेवी गाउँपालिकाका १० जनाको कोरोना परीक्षणका लागि स्वाब पठाइएको छ । हालसम्म जिल्ला अस्पतालमा ५० , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय २२ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ३४, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जना गरि १ हजार १६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये ६८ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र २७ जना पुरुष गरि ३० जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ४ बेडको आइसोलेशन कक्ष र ५सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
कोरोना संक्रमितका परिवार सहित मन्थली नगरपालिकाका ७९ जनाको रिपोर्ट नेगेटिभ
- प्रकाशित मिति: आइतबार, भाद्र ७ २०७७
- तामाकोशी