रामेछाप । भदौ २ गते,किसानसँग महङ्गो मूल्य लिएर रासायनिक मल बिक्री गर्ने एक जनालाई मंगलबार रामेछाप प्रहरीले पक्राउ गरेको छ । कृषक जागरण कृषि सहकारी संस्था ओख्रेनीको– ६ रामेछापको मन्थली बिक्री केन्द्रका पदमबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो । सो सहकारीको बिक्री कक्षमा समेत स्थानीय प्रशासनले सिल गरेको छ । सो संस्थाका व्यवस्थापक तथा बिक्री केन्द्रका प्रमुख लामाले एमोनियम सल्फेट नामको रासायनिक मलको मूल्य लिई युरिया बिक्री गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।वीरगञ्जमा ८ सय ४६ रुपैँया मुल्य पर्ने सो मल लामाले मन्थली ल्याएर १ हजार ८ सय रुपैँया प्रति बोराका दरले बिक्री गरेको पाइएको छ । उनले मंगलबार किसानलाई १ सय ६६ बोरा मल बिक्री गरेका थिए ।कृषकलाई एमोनियम सल्फेटकै बिल काटेका लामाले मल भने युरिया दिएका थिए । मल लिनु अघि कृषकलाई दिएको बिल मलको बोरा दिएपछि बिक्रेताले नै फिर्ता लिएका थिए ।उनलाई कालोबजारी अन्तर्ग पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्याल रामेछापको हिरासतमा पठाइएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
महङ्गो मूल्यमा रासायनिक मल बिक्री गर्ने पक्राउ
- प्रकाशित मिति: मंगलबार, भाद्र २ २०७७
- तामाकोशी