३० साउन, काठमाडौं । ३९ जनामा कोरोना संक्रमण देखिएपछि काठमाडौं महनगरपालिका वडा नं १४ ले बुधबारदेखि आफ्नो वडा सिल गरेको छ । सिल भएको वडाको भित्री कथाचाहिँ अलि फरक देखिएको छ । यस वडामा ७ हजार ८४६ घरपरिवारको बसोबास छ ९भाडामा बस्नेबाहेक० । यही १४ नम्बर वडाभित्रै कालिमाटी तरकारी बजार, बल्खु तरकारी मण्डी, फलफूल मण्डीका साथै कलंकी नाकादेखि खाद्यान्नका ठूल्ठूला होलसेलहरु छन् । त्यसैले, काठमाडौंको यो वडा उपत्यकाभरिका मानिसको अत्यधिक आवत(जावत हुने क्षेत्र हो ।
सिल गरिएको यस वडामा सवारी साधन आवत(जावत निरन्तर छन् । तर, खाद्यान्न, फलफुल तरकारी, दूध, ग्यास, खानेपानीलगायत सम्पूर्ण व्यवसाय बिहान पाँच बजेदेखि नौ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । कपडा पसल, रेस्टुरेन्ट, होटेलदेखि ठेलागाडासम्म रोक लगाइएको छ । यसो गर्नुको अर्थ वडा कार्यालयले जारी गरेको विज्ञप्तिमै प्रष्ट किटान गरेको छ कि कोरोना भाइरस अब समुदाय स्तरमा पुगिसक्यो । एक हप्ता पहिले कुलेश्वरको आवास क्षेत्रकी ४२ वर्षे गृहिणीमा कोरोना संक्रमण देखिएको थियो । ती गृहिणीको परिवारका सदस्यहरु लकडाउन शुरु भएदेखि नै तरकारी पसलबाहेक कतै गएका थिएनन् ।
संक्रमणपछि उनका श्रीमान र छोराको पीसीआर टेस्ट गरियो । दुवैको रिपोर्ट पोजेटिभ आयो । त्यस्तै, लिकमार्गका २६ वर्षीय युवक पनि कोरोना संक्रमित भए । वडाध्यक्ष शोभा सापकोटा आफ्नो वडा सिल गर्नुपर्ने कारणबारे बोल्छिन्, ‘पूर्णरुपमा लकडाउन पालना गरेर घरमै बसेका गृहणी र बृद्धासमेतमा कोरोना देखिएपछि समुदायस्तरमा पुगेको निष्कर्षमा निकाल्यौँ ।’ साउन १२ देखि २९ गतेसम्मको आँकडा हेर्दा यस वडामा ३९ जना संक्रमित देखिन्छन् । तर, विडम्वना के छ भने एक हप्तादेखि कोरोना संक्रमितको परिवारकै पीसीआर परीक्षण हुन नसकेको अध्यक्ष सापकोटा नै स्वीकार गर्छिन् ।
संक्रमितलाई न अस्पताल, न परिवारको ट्रेसिङ
आफ्नो वडाका एकतिहाइ संक्रमित मात्र अस्पताल जान पाएको अध्यक्ष शोभा बताउँछिन् । ‘दुईजना एक/दुई दिनअघि नै अस्पताल भर्ना गर्नुपर्ने संक्रमित छन्’, शोभाले भनिन्, ‘तर, अस्पतालमा बेडको अभाव छ, केहीलाई बेलुकासम्म भर्ना गरौंला भनेर खबर आएको छ ।’अस्पताल भर्ना गर्न नसकिएका ती दुई संक्रमितलाई छुट्टै होम आइसोलेसनमा बस्नका लागि पर्याप्त कोठा पनि छैनन् । वडाध्यक्ष सोभाले थपिन्, ‘एउटै कोठामा दुरी कायम गरेर बसेका छन्, एउटै ट्वाइलेट प्रयोग गरिरहेका छन् ।’ती बिरामीलाई शोभाले आश्वासन दिनुबाहेक थप केही गर्न सकेकी छैनन् । संक्रमितकै परिवारको पनि पीसीआर परीक्षण हुन सकेको छैन ।
वडाध्यक्ष सापकोटाका अनुसार संक्रमितका परिवारको समेत पीसीआर परीक्षण भएको छैन । ‘संक्रमितको १५० जना परिवारका सदस्यको परीक्षण गर्नका लागि हामीले एक हप्ताअघि नाम पठाएका थियौँ । तर, अहिलेसम्म परीक्षण हुन सकेको छैन’, उनी भन्छिन्, ‘संक्रमितका परिवारले कहिले परीक्षण हुन्छ भनेर फोन गर्नुहुन्छ, महानगरपालिका र अस्पतालबाट भोलि पर्सितिर आउँछौँ भन्ने जवाफ आउँछ ।’
यो नजिरले पनि संक्रमितहरु सामान्य उपचार र परीक्षणविनै मृत्युवरण गर्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ । सोभा प्रश्न गर्छिन्, ‘पीसीआर टेस्ट एकदमै ढिला भयो । अब हामीले कसलाई गएर भन्ने ?’छ दिनदेखि वडा कार्यालय पनि सिल गरिएको छ । कार्यालयका घरबेटीलाई कोरोना संक्रमण भएपछि कार्यालय आवत-जावत गर्न बन्द गरिएको थियो । बैठकहरु कार्यालय बाहिरै भएका छन् । शोभा भन्छिन्, ‘यसरी कार्यालयमा सम्पर्क भएपछि २८ जनै वडा सदस्य र कर्मचारीहरुको परीक्षण हुनुपर्ने हो । तर, दुई/तीनजना बाहेकको परीक्षण नै हुन सकेको छैन ।’