कोरोना संक्रमित बढेपछि रामेछापमा थप कडाई, नाकामा पैदल यात्रा गर्न समेत रोक

  • प्रकाशित मिति: शुक्रबार, साउन ३० २०७७
  • तामाकोशी

रामेछाप । साउन ३० गते,
कोरोना संक्रमणका बिरामी बढेपछि रामेछापमा थप कडाई गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाको सबै क्षेत्रमा थप कडाई गर्ने निर्णय गरेसंगै शुक्रबारबाट उपभोग्य सामान बिक्री गर्ने पसल बिहान ५ देखि १० बजेसम्म मात्रै सञ्चालन भएका छन् । जिल्लामा साँझ ७ देखि बिहान ५ बजेसम्म जिल्ला प्रवेश गर्ने नाकामा पैदल यात्रा गर्न समेत रोक लगाइएको छ । अत्यावश्यक र स्थानीय प्रशासनबाट अनुमति लिएका सवारी साधन बाहेक सबै सार्वजनिक र निजी सवारीसाधन, मोटरसाइकल समेत भदौ ११ गते सम्मका लागि जिल्ला भित्र पनि सञ्चालनमा रोक लगाइएको छ ।
यसैबीच नेपाली कांग्रेस रामेछापले बिहीबार एक विज्ञप्ति जारी गरी जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएकोले उच्च सर्तता अपनाउन आग्रह गरेको छ । पार्टी सचिव लेखबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा चाडबाटमा भेटघाट गर्ने तथा घर बाहिर मन्दिर जाने जस्ता कार्य नगर्न पनि आग्रह गरिएको छ ।कांग्रेसले पीसीआर परीक्षणको दायरा बढाउन, आइसोलेसनको बेड संख्या र गुणस्तर बढाउन साथै नागरिकलाई मात्र हैन सरकारी कर्मचारी र उच्च अधिकारीलाई समेत रामेछाप जिल्लामा आउजाउमा रोक लागाउन माग गरेको छ । उता मन्थली नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालयलाई सिल गरिएको छ ।