सिन्धुपाल्चोमा पहिरोले १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

  • प्रकाशित मिति: शुक्रबार, साउन ३० २०७७
  • तामाकोशी

सिन्धुपाल्चोक । साउन ३० गते,
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले कातिकेबाट प्रहरी उद्धारका लागि गएपनि लामो बाटो पार गर्नु परेकाले घटनास्थल पुग्न समय लाग्ने बताउनुभयो । उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।