सिन्धुपाल्चोक । साउन १६ गते,
नेसनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८, तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा बिहीबार राति २ बजेतिर पहिरो खसेकोे थियो । पहिरोले आयोजनाको सुरुङमार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति पु¥याएको छ । पहिरोले तिपेनीबजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ । निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटनमार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो । पहिरोका कारण सवारी साधन तथा मानिसको आवत–जावतसमेत बन्द भएको छ । उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौं मानिस बीचबाटोमै अलपत्र परेका छन् । पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागिपर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकमा जलविद्युत् आयोजनामा पहिरो
- प्रकाशित मिति: शुक्रबार, साउन १६ २०७७
- तामाकोशी