सुनको मूल्य हालसम्मकै उच्च

  • प्रकाशित मिति: आइतबार, साउन ११ २०७७
  • तामाकोशी

काठमाडों । साउन ११ गते,
सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । आइतबार सुन तोलाको ९६ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तोलाको ९५ हजार ३ सय ६५ मा कारोबार भएको थियो । चाँदीको मूल्य पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ ।
शुक्रबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेको हो । यसैबीच नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ । महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । महाधिवेशनमा देशभरबाट करिव ४ सय जना प्रतिनिधि सहभागी हुनेछन् । बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको छ । महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका लागि वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ । यस्तै महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ । हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएका छन् ।