रामेछाप । असार २२ गते,
आयोजना निरंकुश हिसाबले चलेको भन्दै रामेछापको उमाकुण्ड गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासीले लिखु खोला लगायत जलविद्युत अयोजनाको काम अघि बढ्न नदिने चेतावनी दिएका छन् । लिखु खोलामा आयोजना निर्माण गरिरहेको दुगड समूहले आयोजनाको काम पारदर्शी नबनाएपछि जनप्रतिनिधिले आक्रोशित भएका छन् । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले स्थानीय सरकारसँग समन्वय गरी सामाजिक उत्तरदायीत्वको काम गर्न पटक पटक अनुरोध गर्दापनि आयोजनाले वेवास्ता गरेको बताए । जनताको अधिकार स्थापनाका लागि सरकार र स्थानीयसँग भएका सहमति र सम्झौता कार्यान्वयन नगरेसम्म आयोजनाका कुनै पनि काम अघि बढ्न नदिने उनको चेतावनी छ । ‘ विकास विरोधी हैनौँ तर स्थानीयलाई उठिबास लगाउने गरी गरिने विकास हामीलाई चाहिँदैन, अब पनि विधि प्रक्रियाबाट आयोजना अघि नबढे तत्काल सबै काम रोकिन्छ, काम रोक्दा कसैले प्रतिवाद गर्न आए जनप्रतिनिधिहरु जनताका लागि मर्न तयार छन् सुनुवारले भने । उमाकुण्ड गाउँपालिका–१ का अध्यक्ष नुर्व शेर्पा आयोजनाले विकास भन्दा बढी विनाश गरेको बताए । आयोजनाको सबैभन्दा ‘कसैको घर छैन, कसैको गोठ छैन, कसैको जग्गा छैन, आयोजनाले विकास हुन्छ भनेको विनाश ग¥यो जनताले आयोजनाबाट केही पाएनन’( बढी प्रभावित क्षेत्र गुम्देलका वडाअध्यक्ष शेर्पाले भने । उमाकुण्ड–२ का वडाअध्यक्ष खम्बध्वज बस्नेतले आयोजनाले सामाजिक उत्तरदायीत्वको अधिकांश रकम आफ्नै प्रयोजनका लागि बनाएको सडकमा खर्च गरेको बताए । ‘अहिलेसम्म जनप्रतिनिधिका कारण आयोजनालाई कुनै अप्ठेरो पारिएको छैन, सहमतिअनुसार जनताका माग सम्बोधन नहुँदा काम बन्द गराउनुपर्ने अवस्था आयो’ उनले भने । वडा नम्बर ३ का वडाअध्यक्ष रमेश सुनुवारले अबको लडाईं नागरिक अधिकारको लडाईं भएको बताए । गाउँपालिकाका २५ हजार नागरिकको जीवनमाथि खेलबाड गर्ने आयोजना आवश्यक नरहेको उनले बताए । आयोजना यही हिसाबले चले अघि बढ्न नदिने बताउँदै उनले अहिलेसम्म भएको लगानीको हिसाब फिर्ता लिएर बाहिरिन आयोजनालाई सुझाव दिए । ‘आयोजनाको अहिलेसम्म लगानी कति भयो , हिसाब गरौं, लगानी रकम लिएर आयोजना फिर्ता जाओस्, बाँकी काम स्थानीय सरकार र जनताले अघि बढाउँछ उनले भने । आयोजनाले निर्माणको अन्तिम चरणमा पुग्दासम्म स्थानीय समुदायसँग एकपटक पनि छलफल नगरेको उनले बताए ।
दुगडले विभिन्न बैँक र वित्तीय संस्थाको लगानीमा रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा तीनवटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ती आयोजनामा कुल १ सय ५७ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम भइरहेको छ । लिखु ए, लिखु–१, २ मा एमभी दुगडको करिब २१ अर्ब रुपैँया लगानी हुँदैछ । निर्माणाधीन ‘लिखु ए’ जलविद्युत आयोजनाबाट २९.०४ मेगावाट, लिखु १ बाट ७७ मेगावाट, र लिखु २ बाट ५५ मेगावाट विद्युत उत्पादन हुनेछ । सो आयोजनाले नेपाल सरकार र स्थानीयसँग भएका सहमति अनुसार काम नगरेपछि स्थानीय सरकार र स्थानीयवासी तथा आयोजना बीचको विवाद उत्कर्षमा पुगेको हो । आयोजनाले खर्च गरेको सामाजिक उत्तरदायित्वको रकम खोजी गर्न शनिबार रामेछापको उमाकुण्ड गाउँपालिकाले बाम्तिमा गरेको कार्यक्रममा नेपाल सरकार र स्थानीयसँग भएको सहमति कार्यान्वयन गरेर सामाजिक उत्तरदायीत्व अन्तर्गत खर्च भएको हिसाब सार्वजनिक नगरेसम्म आयोजनाको काम अघि बढाउन नदिने जनप्रतिनिधिले बताए । यता आयोजना सल्लाहकार समितिका सदस्य डिल्लिराम गिरीले पनि आयोजनाको तर्फबाट नागरिक र स्थानीय सरकारसँग राख्नुपर्ने सम्बन्धमा कमी भएको स्वीकार गरे । उनले नागरिक र जनप्रतिनिधिसहितको भेलामा पटक पटक हात जोडेर माफी मागे । सामाजिक उत्तरदायित्वको रकम कहाँ कसरी खर्च भएको छ भन्ने सबै हिसाब देखाउन तयार रहेको बताएका गिरीले नागरिकबीचमा भने हिसाब सार्वजनिक गर्न सकेनन् । उनले जनप्रनिधिलाई राखेर खर्चको सबै हिसाब सार्वजनिक गर्ने भन्दै नागरिकका अगाडी पन्छीए ।‘यहाँको सरकारको निर्देशन पालना गरेर अघि बढ्न तयार छौं, काम गर्ने क्रममा भएको कमजोरी प्रति हातजोडेर माफी माग्छु, हामी सबैसँग हात मिलाएर अघि बढ्न चाहन्छौ’( उनले भने । कम्पनीले राज्यसँग गरेका सम्पूर्ण सम्झौता कार्यन्वयन गर्नुपर्ने, आयोजना निर्माण सुरु भएयताको स्थानीय प्राकृतिक स्रोत ढुंगा गिट्टी, बालुवाको कर बुझाउनुपर्ने, प्रभावितलाई उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गर्नुपर्ने, सामाजिक उत्तरदायित्वको रकम पारदर्शी रुपमा खर्च गर्नुपर्ने गाउँपालिकाको माग छ । यस्तै आयोजनाले क्षति पु¥याएको सडकको स्तरोन्नति गर्नुपर्ने, स्थानीयलाई मुआब्जा दिँदा विधिसम्मत रुपले समान मुआब्जा दिनुपर्ने लगायत माग छ ।
फोटो हेर्नुहोस

शेर बहादुर सुनुवार गाउँपालिका अध्यक्ष

नुर्वु शेर्पा वडाध्यक्ष वडा नं १

खम्बध्वज बस्नेत वडाध्यक्ष वडा नं २

रमेश सुनुवार वडाध्यक्ष वडा नं ३

डिल्लिराम गिरी आयोजना सल्लाहकार समितिका सदस्य