काठमाडौंमा बढ्यो जोखिम,यस्तो छ कोरोनाको स्थिति

  • प्रकाशित मिति: बुधबार, असार १७ २०७७
  • तामाकोशी

१७ असार । स्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम छ र ? तर, सडकमा सवारीसाधनको जाम छ। पैदल यात्रुको उस्तै चाप छ। लकडाउन खुकुलो भएको मौकामा संघीय राजधानी भित्रिनेको लर्को छ। पीसीआर परीक्षण गर्न टेकु अस्पतालमा उस्तै भीड लाग्छ। दैनिक औसत ८ सय जना लाइन लाग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्।

काठमाडौं भित्रिनेहरू कोरोना परीक्षण गर्न आतुर देखिन्छन्। तर, उनीहरूले परीक्षण गर्दा भर्ने फारममा भने बसोबास रहेको ठेगाना खुलाउँदैनन्। उनीहरूको प्रवृत्ति छ, बसोबास राजधानीको, ठेगाना जन्मस्थानको। यो प्रवृत्तिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पदाधिकारी तनावमा देखिन्छन् ।



‘आत्मीयता रहने हुनाले जन्मथलोको मायाले हो वा आफ्नो परिचय लुकाउनका लागि हो। त्यो थाहा भएन’, महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘तर, वास्तविक ठेगाना उल्लेख नगर्दा हामीलाई संक्रमित खोज्नै हैरान हुने गर्छ।’ कोरोना ७७ वटै जिल्लामा फैलिएको छ । देशभरका २२ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ । ती प्रयोगशालामा दैनिक ४ देखि ७ हजारसम्म स्वाब नमुना परीक्षण हुन्छ। यो खबर आजको अन्नपूपर्ण पोस्ट दैनिकले छापेको छ ।