रामेछाप । असार १० गते,
रामेछापको मन्थली नगरपालिकाले १ अर्ब ७ करोड ३९ लाख ७७ हजार भन्दाबढीको बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार नगरसभामा सो बजेट तथा कार्यक्रमका साथै नगरपालिकाको नीति तथा कार्यक्रम पेश भएको हो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिडबाट नागरिकलाई बचाउने नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताए । आउने आर्थिक वर्षको नीतिमा खाद्यान्न, तरकारी, दुध, मासु र अण्डामा नगरपालिकालाई आत्मनिर्भर बनाउने रहेको छ । त्यस्तै स्थानीय स्रोत र साधनमा आधारित घरेलु तथा सानाउद्योगबाट नगरवासीको आयस्रोत विकास गर्ने, आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, महामारीबाट सुरक्षित बनाउन पूर्वतयारीका काम गर्ने, विपत्जन्य घटनालाई तत्काल सम्बोधन गर्न विपत् व्ययवस्थापन कोष स्थापना गर्ने लगायत नगरपालिकाको नीति रहेका छन् ।
सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख माया कार्कीले नगरपालिकाको कुल बजेट १ अर्ब ७ करोड ३९ लाख ७७ हजार ७ सय ३८ रुपैँया रहेको जानकारी दिइन् । विनियोजित बजेट मध्ये आन्तरिक चालु तर्फ १२ करोड ६० लाख र सशर्त चालु तर्फ ५४ करोड र सशर्त र निशर्त आयोजना तथा कार्यक्रमको पूँजिगत समेतको लागि ४० करोड ४० लाख रुपैँया विनियोजन गरिएको उनले जानकारी दिइन् । चालु आर्थिक वर्षमा सो नगरपालिकाको १ अर्ब १२ करोड २८ लाख रुपैयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्म चालु तर्फ ३९ करोड १६ लाख अर्थात् ६६ प्रतिशत रकम खर्च भएको छ । त्यस्तै पूँजिगत तर्फ १६ करोड ५६ लाख अर्थात् चौँतिस प्रतिशत रकम खर्च भएको कार्कीले जानकारी दिइन ।
मन्थली नगरपालिकाको सातौ नगरसभा यसरी भएको थियो हेर्नुहोस् फाटो
