लिफ्ट खानेपानी योजना निर्माणसँगै गाउँमा खुशियाली

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २६ २०७७
  • तामाकोशी

सिन्धुली । जेठ २६ गते,
सुनकोसीको पानी खसाल्न लिफ्ट खानेपानी योजना निर्माण भएपछि सिन्धुलीको फिक्कल गाउँपालिका–२ पोखरीका बासिन्दामा यतिखेर गाउँमै खुशियाली छाएको छ । गाउँपालिकाको ६० लाख रुपैया सहयोगमा सुकोसीको नबलपुरबाट झण्डै ५२० मिटर माथि गाउँमा फ्याकेर खानेपानी खुवाउन योजना निर्माणसँगै उनीहरुमा खुशियाली छाएको हो । योजना निर्माणसँगै चण्डिभञ्ज्याङ, डडुवा, बबला र गैरीगाउँका करिब १५० घर धुरीमा खुशीयाली छाएको स्थानीय सुम्नाम मावि चण्डिभञ्ज्याङका प्रधानाध्यापक टेकबहादुर थापाले बताए । लिफ्ट खानेपानी बनेपछि सुनकोसी र खोलोका पानी घण्टौ बोकेर खानु पर्ने स्थानीयको बाध्यता हटेको छ ।
सुनकोशीको नवलपुरबाट पानी लिफ्टगरी ३५० मिटर माथि फाल्न प्राविधिकहरुलाई सफलता मिलेको गाउँपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताए । उनका अनुसार अब पानी खसेको ठाँउमा ईन्टेक निर्माण गरी त्यहाबाट माथि १७० मिटर पानी फ्या केर रिजर्भ ट्यांकी निर्माण गरी गाउँमा खानेपानीकोको पाईप लाईन बिस्तार गर्ने योजनाको काम बाँकी छ । लिफ्ट खानेपानी योजनालाई चालु आर्थिक वर्ष भित्रै सक्ने लक्ष्य रहेको उनको भनाई छ । गाउँपालिकाका अनुसार ५० हजार घनमिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना रहेको छ । प्रति सेकेन्ट चार लिटर पानी फ्याल्ने क्षमताको मोटर जडान गरिएको छ । तल्लो ट्यांकीबाट समेत पानी वितरण गर्ने योजना रहेको छ ।