२५ जेठ । बैतडीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका वडा नं ६ कै सन्तोलि घर भएका ३१ वर्षीय युवकको शनिबार मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । साँझ साढे ६ बजेतिर उनी एक्कासि बेहोस भएका थिए । त्यसपछि उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर उनको मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले बताउनुभयो । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ ।
ज्यान गुमाएका पुरुष हिजो शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए र उनी सीधै क्वारेन्टाइनमा गएर बसेका थिए । मृतकसँगै बेंगलोरबाट अरु १३ जना पनि हिजो नै बिहान पाटन पुगेका बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन् ।