रामेछाप । जेठ २३ गते,
रामेछाप जिल्लाका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमत्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि हुनेहरु १७ देखी ४९ वर्ष सम्मका पुरुष रहेका छन् । कर्णले भारतबाट आएर जिल्लाको विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका ७० जनामध्ये ४० जनाको पीसीआर रिपोर्ट आएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको बताए । उनले अरु २३ जनाको भने पीसीआर रिपोर्ट नेगेटिभ रहेको बताए । संक्रमण पुष्टि भएकाहरु गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना रहेको बताइएको छ । संक्रमित व्यक्तिहरुलाई आवश्यक सुरक्षा सर्तकता सहित जिल्ला अस्पताल ल्याइदै गरिएको बताइएको छ ।
यसअघि मन्थली नगरपालिकाका ९ जना ,रामछाप नगरपालिकाका ८ जना, दोरबा गाउँपालिकाका १० जना, लिखु तामाकोशी गाउँपालिकाका १८ जना र गोकुलगंगा गाउँपालिकाका १९ जना सहित ७० जना व्यक्तिहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि गत बुधबार धुलिखेल अस्पताल पठाइएको थियो । यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रामेछाप स्थायी घर भई जुम्लामा कार्यरत एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो संगै एकैदिन रामेछापका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोकुलगंगाका ११ र लिखुतामाकोशी गाउँपालिकाका ६ गरी रामेछापका १७ जनामा कोरोना पुष्टि
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३ २०७७
- तामाकोशी