विश्व वातावरण दिवसका अवसरमा रामेछापका विभिन्न स्थानमा वृक्षारोपण

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २३ गते,
शुक्रबार रामेछापमा पनि विभन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइएको छ । “सुरक्षित जीवनका लागि जैविक विविधता”भन्ने मूलनाराका साथ विश्वभर दिवसका अवसरमा जिल्लाको विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ । संघीय आर्थिक सहायताा तथा विकास मन्त्रालय र तेरे दे जोम्स जर्मनीको आर्थिक सहयोगमा सामुदायिक विकास समाज , श्रृजनशिल युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रमको संयुक्त साझेदारीमा संचालित वातावरण संरक्षण परियोजना रामेछापले वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रम अन्र्तगत सदरमुकाम मन्थली स्थित मन्थली माध्यामिक विद्यालय, रामेछाप नगरपालिकाको गौरीशंकर माध्यामिक विद्यालय, नयाँ गोरखगण दल र सानीमदौ सामुदायिक वन क्षेत्रमा क्यासियो , गुल्मोर ,कटहर ,आरु ,निम लगायत विभिन्न जातका ४ सय बढी विरुवा रोपिएको वातावरण संरक्षण परियोजना रामछापका बाल संयोजक बलराम लामाले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा मन्थली नगरपालिका शिक्षा शाखाका प्रमुख हेमन्त बुढाथोकी , नेपाल गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ , सामुदायिक विकास समाज सिडिएसका कार्यकारी निर्देशक मिलन कुमार घिसिङ , जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पार्खीन ,विद्यालयका शिक्षक , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , सानीमदौ सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरु र सानीमदौ सोशियल सिटि युवा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामुदायिक विकास समाज सिडिएसका कार्यकारी निर्देशक घिसिङले विश्व वातावरण दिवसको महत्व र दिवसका अवसरमा परियोजनाले गरेको वृक्षारोपण कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए । ४६ वर्ष अघि सन् १९७४ जून ५ देखि विश्वलाई पर्यावरणको सुरक्षा किन चाहिन्छ भन्ने कुरा जानकारी गराउन अन्तराष्ट्रिय रुपमा विश्व वातावरण दिवस मनाउन थालिएको भए पनि नेपालले भने सन् २००० देखि विभिन्न कार्यक्रम तथा अभियानहरु संचालन गरी यो दिवस मनाउदै आइरहेको छ ।

वृक्षारोपण कार्यक्रमका तस्वीरहरु