आज १३ औं गणतन्त्र दिवस , रामेछापमा तीन दिन दिपावली गर्न प्रशासनको आग्रह

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १५ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १५ गते,
आज १३ औं गणतन्त्र दिवस । रामेछापमा तीन दिन घरघरमा दिपावली गरी मनाइदै छ । २ नगरपालिका ६ गाउँपालिकाको ६४ वडा रहेको जिल्लामा तीनदिन घरघरमा दिपावली गरेर १३ औं गणतन्त्र दिवस मनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना मार्फत जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्था, राजनितीक दल,उद्योग ,व्यापारी ,नागरिक समाज , सञ्चारकर्मी लगाएत आम जिल्ला बासीहरुलाई जेठ १४ , १५ र १६ गते साँझ घरघरमा दिपावली गरी गणतन्त्र दिवस मनाउन आग्रह गरेको हो । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । आजदेखि १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । २०६२र०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । सोही आन्दोलनले सशस्त्र हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्यायो । २०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिएका थियो । यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन सकेन र २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गरियो । दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनमा क्रममा छ ।