मानव अधिकार अवस्था अनुगमन समिति रामेछापद्धारा सरोकारवालासंग छलफल

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ८ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ८ गते,
मानव अधिकार अवस्था अनुगमन समितिको जिल्ला स्तरीय अनुगमन समितिले आफ्नो काम कर्तब्य अधिकारको बारेमा जिल्ला स्थित सरोकारवालालाई जानकारी गराएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा अनुगमन समितिका संयोजक रमेश ढुंगेलले जिल्लामा गठित समिति, त्यसको काम कर्तब्य र अधिकार, उद्धेश्य, कृयाकलाप , चुनौति र अपेक्षाका बारेमा जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघका रामेछापका अध्यक्ष समेत रहेका ढुंगेलले बिश्वब्यापी रुपमा पैmलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मावन अधिकार आयोगको परिपत्र अनुसार ७७ वटै जिल्लामा जिल्ला स्तरीय समिति गठन गर्ने अभियान अन्तर्गत रामेछाप जिल्लामा पनि पनि नेपाल पत्रकार महासंघ,गैर सरकारी संस्था महासंघ, रामेछाप वार इकाइ र २ जना अधिकार कर्मी सहितको ५ सदस्यीय समिति गठन भएको जानकारी गराए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मानव अधिकार अवस्था अनुगमन समितिले जिल्लामा धेरै काम गर्न आबश्यक रहेको बताइन् । कोरोना भाइरसका कारण मुलुकभर लकडाउन भैरहेको अवस्थामा जिल्लामा स्थानीय प्रशासनले गरेका कामहरु ,सक्रमण फैलिन नदिन अपनाइएका उपायहरु, बजारमा मुल्य बृद्धिको अवस्था एबं समाजिक दुरी पालना भए नभएको वारेमा अनुगमन गरी आफुलाई जानकारी दिन उनले अनुरोध गरिन् ।
कार्यक्रमका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बर्तमान अवस्थामा जिल्लामा मनोसामाजिक रोगिहरु पनि देखिन थालेकोले उनीहरुको उपचारको लागि पनि समितिले समन्वयात्मक ढंगबाट काम गर्नु पर्ने कुरालाई जोड दिए । मन्थली नगरपालिकाका न्यायिक समितिका सदस्य नारायण बोगटीले जिल्लामा भएको लकडाउन र कोरोना भाइरसको संक्रमण फैलिन नदिन का लागि स्थानीय प्रशासनले गरेको पहल पालिका र जिल्ला स्तरमा भएको क्वारेन्टिन कक्ष आइसोलेशन वार्ड र बजारमा हुनेगरेको चहलपहल र समाजिक दुरी पालना भए नभएको बारेमा अनुगमन गरी सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउन समितिलाई सुझाव दिए ।