रामेछाप । चैत २६ गते,
रामेछापको तामाकोसी अस्पताल मन्थलीमा उच्च ज्वरोको कारण मंगबार राति मृत्यु भएका वृद्ध दीर्घरोगि भएको मन्थली नगरपालिका वाडा नं ११ को वडा कार्यालयले जनाएको छ । उनी लामोसमयदेखि विरामी रहेका र घरमै भएको कारण कोरोना संक्रमणको सम्भावना नरहेकोले आतंकित नबन्न वडाकार्यालयले विज्ञप्ति मार्फत आग्रह गरेको छ । मंगलबार उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका मन्थली–११ का ६७ वर्षीय तुलबहादुर मगरको सोही राति ज्यान गएको थियो । उनको मृत्यु भएपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा कोरोनाको कारण उनको मृत्यु भएको खबर सार्वजनिक भए पछि रामेछाप जिल्लावासीहरु त्रसिद बनेका छन् ।
उनको स्वाब परीक्षणको लागि बुधबार धुलिखेल अस्पताल पठाइएको अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनको मृत्यु पछि केही समय सरसफाइको लागि अस्पाता बन्द गरिएको भए पनि त्यस पछि सेवा सुचारु रहेको अस्पतालले जनाएको छ । वडाअध्यक्ष भिमबहादुर थापामगरद्वारा जारी विज्ञप्तिमा मृतक मगर २०७३ सालदेखिनै दमको रोगि रहेको र हाल घरमा बसेकै अवस्थामा ज्वरो आई निमोनिया भएर उपचारको लागि मंगलबार साँझ मन्थली स्थित तामाकोसी अस्पतालमा भर्ना गरिएकोमा राति उनको मृत्यु भएको उल्लेख छ । उनमा कोरोना संक्रमणको कुनै सम्भावना नरहेको र थप परिक्षणको लागि स्वाव पठाई सकेकोले नआत्तिन तथा भ्रममा नपर्न र नडराउन समेत वडा कार्यालयले अनुरोध गरेको छ । उनको शव बुधबार बिहान नै परिवारले जिम्मा लिएर दाहसंस्कार गरि सकेको समेत वडा अध्यक्षको विज्ञप्तिमा उल्लेख छ ।
