रामेछाप । फागुन ३० गते,
रामेछापमा निर्माणाधिन लिखु १ जलविद्युत् आयोजनासँगको विवाद चर्कंदा उमाकुण्ड–१ गुम्देलबाट बुधबार नियन्त्रणमा लिइएका ५ जनालाई प्रहरीले बिहीबार छाडेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा चार घन्टा लामो बैठकमा जलविद्युत् आयोजना, गाउँपालिकाका प्रतिनिधि र स्थानीयबीच सहमति कायम भएपछि पक्राउ परेका सबैलाई रिहा गरिएको हो । आयोजनामा तोडफोड गरेको आरोप लागेका व्यक्तिलाई नियन्त्रणमा लिन पुगेको प्रहरी र स्थानीयबीच बुधबार गुम्देलको टाङदिङमा झडप भएको थियो । झडपमा २ प्रहरी र केही स्थानीय सामान्य घाइते भएका थिए । बिहीबार भएको छलफलमा लिखु १ जलविद्युत् आयोजनाले स्थानीयका जायज मागलाई सम्बोधन गर्ने, मुआब्जा लगाएतका विषय टुंगो लगाउने, आयोजनामा रोजगारीको अवसर सिर्जना गर्ने, सामाजिक उत्तरदायित्वका कार्य गर्ने र स्थानीय पक्षबाट आयोजना सञ्चालनका लागि सहयोग गर्ने विषयमा सहमति भएको थियो । यसअघि स्थानीयले प्रवेश सडक निर्माण गर्दा मुआब्जा नदिएको, स्थानीयलाई रोजगारी नदिएको, सामाजिक उत्तरदायित्वको काम नगरेको भन्दै पटकपटक आयोजनामा ध्यानाकर्षण गराउँदै आएका थिए । रामेछाप, सोलु र ओखलढुंगाको बीचमा बग्ने लिखु नदीको पानी प्रयोग गरी दुगड समूहको लगानीमा १ सय ६१ मेगावाट क्षमताको लिखु १, लिखु २ र लिखु ए जलविद्युत् आयोजना कार्यान्वयनमा रहेका छन् ।
सहमति पछि रामेछाप गुम्देल झडपमा पक्राउ परेका छुटे
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन ३० २०७६
- तामाकोशी