आज फागु पूर्णिमा अर्थात होली, रामेछापमा पनि जमघट भएर होली खेल्न नपाइने

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २६ २०७६
  • तामाकोशी

रामेछाप । फागुन २६ गते,
आज फागुन शुक्ल पूर्णिमा रामेछापमा पनि मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । रामेछापमा पनि यसको प्रभाव देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना भाइरस संक्रमणको जोखिमलाई मयनजर गरी ठूला सभा समारोह, भेला तथा कार्यक्रम नगर्न नगराउँन यसअघिनै आग्रह गरिसकेको छ । प्रशासनले सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिकोले सूचना निकालेर लोलापानी फ्याँक्ने, रंग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिबिधि नगर्न अनुरोध गरेको छ । डाक्टरहरुले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् ।



भिडभाडमा जाँदा र पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन उनीहरुको आग्रह छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।