रामेछाप । फागुन २४ गते,
शनिबार पश्चिमी वायुको प्रभावले रामेछाप सहित देशभर बिहानैदेखि वर्षा भइरहेको छ । शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन् । वर्षा निरन्तर नभइ केही समय रोकिँदै फेरि हुने बताइएको छ । हाल देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ देशको पश्चिमी भू–भागका केही स्थानलगायत मध्य र पूर्वी भू–भागमा वर्षा भइरहेको जनाइएको छ । रामेछापको अधिकांस ठाउँमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । आइतबार पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको औंल्याइएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
रामेछाप सहित देशभर वर्षा : आइतबारदेखि मौसम सुधार हुने
- प्रकाशित मिति: शनिबार, फाल्गुन २४ २०७६
- तामाकोशी