काठमाडौं, ११ फागुन । नेपालस्थित स्विट्जरल्यान्डको राजदूतावासले विज्ञप्ति जारी गर्दै सेक्युरिटी प्रेस खरिद सन्दर्भमा ‘स्विस कम्पनीका एजेन्ट’ भनिएका बिजय मिश्रसँग कुनै प्रकारको एजेन्टको साइनो नरहेको प्रष्ट्याएपछि चर्चामा रहेको अडियो प्रकरणको गाथा केही अलग हुन सक्ने अनुमानित आधार भेटिएका छन् । सरकारले यती समूहलाई केही लिफ्ट दिँदा विभिन्न राष्ट्रिय सम्पत्तिमा हक जमाउन नपाएको चौधरी ग्रुप, नेकपाभित्रकै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेको अर्को समूहको प्रायोजित फन्डाका रूपमा यस प्रकरणलाई व्याख्या गर्न थालिएको छ ।
आफ्ना बारेमा प्रश्न उठेपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएको, गोकुल बास्कोटाले बताइसकेका छन् । उनी चौधरी समूहको सीजी टेलिकमले ल्याउन लागेको ‘फाइभ जी’ सेवासहितको कम्पनीका लागि खरो र नियमक व्यक्ति बनिदिए । प्रधानमन्त्री ओलीले बास्कोटा भन्दा अन्यका कुरा नसुन्ने गरेको चर्चा चलेपछि सरकारका निर्णयमा उनी हावी हुन थालेको भन्दै उनलाई साइड लगाउने हतियारका रूपमा मिश्रको प्रयोग गरिएको बताइन्छ ।
मन्त्रिपरिषद्का बैठकमा पनि प्रधानमन्त्री ओलीले बास्कोटाको कुरा मात्र खाने गरेको विवरण सतहमा आएको थियो । ‘यसमा विभिन्न समूहको स्वार्थ जोडिएको हुनसक्छ । एकातिर ठूला आर्थिक चलखेल गर्न नपाएको समूहलाई रोकियो, अर्कातिर पार्टीमा पनि ओली र प्रचण्डको समझदारी बलियो बन्न थाल्यो’, उच्च स्रोतले भन्यो,‘यो समझदारी टुटाए मात्र तेस्रो समूह हावी हुन सक्ने भएपछि अडियोलाई बाहिर ल्याउने प्रायोजित खेल भयो ।’
‘बास्कोटाका विषयमा प्रधानमन्त्री अति नै सकारात्मक देखिएपछि अडियोलाई प्ले गरियो । यसले ओली विरोधी खेमालाई दुईवटा फाइदा पुग्ने भयो । पहिलो, बास्कोटाको बहिर्गमन, दोस्रो ओलीको सरकारी दाहिने काँधमा प्रहार’, उच्च स्रोतले भन्यो,‘१६ महिनाअघि त्यस्तो डिल भएको थियो भने यो अहम् मौकामा मात्र किन उचालियो, कसरी बहकाउमा पार्न खोजियो ?’
प्रधानमन्त्री ओली स्वास्थ्य र आत्मबलका हिसाबले पनि अझ सक्रिय हुन थालेपछि उनलाई कमजोर बनाउन सबैभन्दा पहिला आत्मविश्वासी पात्रको बहिगर्मन, मनोबल गिराउनुपर्ने नियतीका प्रमाण अर्को गुटले खोजीनीति गरिरहेको थियो । त्यसैको सान्दर्भिक पात्र बनिदिए बिजय मिश्र जो, ओली गुटकै लमजुङे नेकपा हुन् ।
उनीसँग १६ महिनाअघि गरिएको बातचितको अडियोलाई हालको सान्दर्भिकता ठानेर मिडियाबाजी गरेपछि ओलीको आत्मबलका रूपमा रहेका बास्कोटाको राजीनामाले सरकारभित्र हलचल पैदा गराउन सकिने, माधव नेपाल गुटका कतिपयको योजनाको परिणाम हुनसक्ने पनि आँकलन गरिएको छ ।
अडियो प्रकरण आउनु दुई दिन अघिमात्र प्रधानमन्त्री ओलीले सरकारमा एकातिर सबै र अर्कातिर गोकुल बास्कोटा रहेको अभिव्यक्ति दिएका थिए । यसले विविध स्वार्थ समूह त्रासदीमा थिए भने बास्कोटालाई हटाउने साधारण कारण खोजीरहेका थिए । यहि शिलशिलामा अडियोलाई मिडियाबाजी गरिएको थियो ।
जबकि, उक्त अडियोलाई दुई महिना अघि नै प्रधानमन्त्रीका सामु पेस गरेको मिश्रले बताउँदै आएका छन् । त्यो अडियोका पूरा संवाद र विवरणलाई भने मिडियामा प्रस्तुत गरिएको छैन । कुराकानीको सुरुआत र अन्त्यको विषयमा गम्भिरताका साथ परिक्षण गरिएको छैन । जबकि, अन्य विविध विषयमा कुराकानी गरिएको अडियो नयाँ पत्रिकालाई डेढ महिना अघि नै उपलब्ध भएको भन्ने विवरण त्यसका संवाददाता रहेका पुष्प ढुंगानाले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका थिए ।
नेकपाका एक नेता भन्छन्,‘जे जति विषय बाहिर आएको छ यसको छानबिन हुनेछ । छानबिनका क्रममा सतहमा आएका अडियो रेकर्डको पूरै भागको खोजी हुनेछ । त्यसले एउटा विन्दुमा निर्णय गर्न सहयोग गर्ला ।’ तर यत्तिका लागि मात्रै यो प्रकरण बाहिर नआएको ति नेताको पनि बुझाई छ । उनी जोड्छन्,‘नेकपामा ओली क्याम्पलाई धक्का दिनकै लागि अडियोलगायतका अन्य विवादीत विषया जोडिन थालिएको छ ।’
सरकारले नै विज्ञका रुपमा नियुक्त गरी राय सुझाव र सल्लाह लिन खोजेका मिश्र कसरी यसविरुद्ध उभिन पुगे ? या उनलाई मिडियाका माध्यबाट उभिन बाध्य बनाइयो ? यसको तथ्यको गहिराईमा पुग्दा मात्र अनेक रणनीति र प्रयोगका पर्दाफास हुने निश्चित छ ।