ओखलढुंगामा हत्या आरोपमा सेना , प्रहरी सहित ३ जना पक्राउ

  • प्रकाशित मिति: सोमबार, माघ २७ २०७६
  • तामाकोशी

ओखलढुंगा । माघ २७ गते,
हत्या आरोपमा ओखलढुंगामा एक प्रहरी र एक सेनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ९ का ४१ वर्षिय पृथ्वीबहादुर बानियाँको हत्या आरोपमा स्थानीय ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय समेत रहेका नेपाल प्रहरीमा कार्यरत चेतबहादुर बानियाँ, नेपाली सेनामा कार्यरत सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले छन् । स्वास्थ्य चौकी ज्यामिरेमा कार्यरत बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घर नजिक मृत फेला परेका थिए । तत्कालिन समयमा मदिरा सेवनका कारण बानियाँको मृत्यु भएको भनिएको भए पनि ६ महिनापछि प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरि म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । अदालतले २ पटक म्याद थप गरिसकेको छ । सोमबार अदालतमा बयान सकिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेर हिरासत चलान भएसँगै नेपाली सेना र प्रहरीमा कार्यरत चेतबहादुर र सन्तोष जागिरबाट निलम्बनमा परेका छन् । घटना भएको समयमा उनीहरु घर बिदामा गाउँमै थिए ।