ट्राफिक सचेतनाको लागि सडकमा “डमी ट्राफिक प्रहरी”

  • प्रकाशित मिति: आइतबार, माघ २६ २०७६
  • तामाकोशी

रामेछाप । माघ २६ गते,
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियम उलङघन गर्नेलाई कडा कारवाहीसंगै ट्राफिक सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न सकेमा दुर्घटना न्यूनिकरण हुने भन्दै ट्राफिक प्रहरीले सदरमुकाम मन्थलीको देवकोटा चोकमा डमी ट्राफिक प्रहरी बनाएर राखेको छ । देवकोटाचोकमा दुइवटा ट्राफिक प्रहरीको डमी निर्माण गरेर राखिएको छ । सडक शिक्षा दिनको लागि विभिन्न उपायहरु अबलम्बन गर्ने उद्देश्यले डमी ट्राफिक प्रहरी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले बताए । यो डमीबाट ट्राफिक प्रहरीले कारवाही जरीवानामात्रै नगरी सवैलाई सम्मान पनि गरिरहेको सन्देश पनि दिने उनको भनाई छ । देवकोटा चोकमा राखिएको डमी विस्तारै अन्य ठाउँमा समेत राख्ने ट्राफिक प्रहरीको तयारी छ । रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेश उदाशले जिल्लाको ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले संचालन गरेका अभियानहरु स्वागतयोग्य रहेको बताए । यस्ता अभियानहरु सफल बनाउँन ट्राफिक प्रहरीलाई रामेछाप उद्योग बाणिज्य संघले सकेको सहयोग गर्ने उनको भनाई छ ।