मन्थलीमा दोस्रो रामेछाप महोत्सव ( २०७६ ) हुँदै, ४७ लाख २० हजार रुपैयाँ खर्च अनुमान

  • प्रकाशित मिति: मंगलबार, माघ २१ २०७६
  • तामाकोशी

रामेछाप । माघ २१ गते,
रामेछापको सदरमुकाम मन्थलीमा दोस्रो रामेछाप कृषि, पर्यटन, सास्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६ हुने भएको छ । मन्थली नगरपालिकाको मुख्य प्रायोजन र सामाजिक सशक्तिकरण नेपाल मन्थलीको सह–आयोजनामा विभिन्न स्थानीय तह तथा निकायको सहयोगमा रामेछाप उद्योग बाणिज्य संघले आगमी फागुन ६ गतेदेखी १५ गतेसम्म महोत्सव हुन लागेको हो । रामेछाप उद्योग बाणिज्य संघले मंगलबार मन्थली पत्रकार सम्मेलन गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याई उद्योग ब्यपारको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्यका साथ महोत्सव गर्न लागिएको जानकारी गराएको हो । महोत्सवलाई सब्य र भब्य तरवले सफल बनाउँने गरी आफुहरुले तयारी गरिरहेको रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले बताए ।
उनले आन्तरिक सहित बाह्य पर्यटकलाई भित्र्याउने, जिल्लावासी तथा जनप्रतिनिधीसँगको सम्बन्ध नजिक बनाउँने , घरेलु उदोगको प्रवद्र्धनमा टेवा पुर्याउने , जिल्लामा लगानीको बातावरण सिर्जना गर्ने जस्ता उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको बताए । उनले महोत्सवमा जिल्लामा रहेका विभिन्न जातजातिका सँस्कृति झल्कने झाँकी प्रदर्शन, कृषि उपज प्रदर्शन, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन गरिने बताए । शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हेलिकप्टरबाट मन्थली शैलुङ उडानको व्यवस्था , स्थानीय कलाकार तथा अतिथि कलाकारबाट प्रत्येक दिन गायन नृत्य सम्मान सहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग रामेछापको वृतचित्र प्रद्धशनी गर्ने गराउने कार्यक्रम पनि महोत्सवमा हुने अध्यक्ष घिमिरेको भनाई छ । उनले महोत्सवमा कुल ४७ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको पनि बताए ।
अध्यक्ष घिमिरेले मन्थली नगरपालिका सहित जिल्लाका अन्य ७ वटा पालिकाहरु , नेपाल उद्योग बाणिज्य महासंघ,नेपाल पर्यटन बोर्ड ,माग्मती प्रदेश सरकार ,गैरसरकारी संस्थाहरु ,विभिन्न व्यापारिक कमपनीहरु , बैंक तथा वित्तिय संस्थाहरु , स्टल वित्रि र टिकट विक्रिबाट महोत्सवमा लाग्ने खर्च व्यवस्थापन गरिने बताए । पत्रकार सम्मेलनमा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले दोश्रो रामेछाप कृषि, पर्यटन, सास्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६ सफल बनाउँन नगरपालिकाले सकेको सहयोग गर्ने बताए । उनले महोत्सवलाई भब्य र सब्य ढंगबाट सम्पन्न गराउने गरी लागि पर्न जिल्ला स्थित सरोकारवाला निकायलाई आग्रह पनि गरे । महोत्सवलाई “कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान” भन्ने मूल नारा दिइएको छ । जिल्लाका विभिन्न पर्यटकिय स्थलहरुको फ्लेक्स प्रिन्ट, जिल्लाको कला संस्कृतिको प्रस्तुती, औद्योगिक प्रर्दशनी तथा खरिद बिक्री, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद बिक्रि, ताजा तरकारी तथा फलफुल तथा कृषि उपज प्रदर्शनी, दुग्ध परिकार प्रदर्शनी, बाल उद्यान, लोक तथा आधुनिक गीत, राष्ट्रिय स्तरको हास्य व्यङ्ग्य कार्यक्रम, स्थानीय भाषाको गीत एवं नृत्य लगायत महोत्सवको मुख्य आकर्षण हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागि पत्रकारहरुले विगतमा भएका महोत्सवले सिकाएको पाठलाई पनि ध्यान दिएर काम गर्न आयोजकलाई सुझाव दिएका थिए । उनीहरुले महोत्सवलाई सफल बनाउँन सञ्चार क्षेत्रबाट सकेको सहयोग गर्ने पनि बताएका थिए ।