सबैसंग समन्वय र सहकार्य गरेर काम गछौँ : अध्यक्ष घिमिरे

  • प्रकाशित मिति: शनिबार, माघ १८ २०७६
  • तामाकोशी

रामेछाप । माघ १८ गते,
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले सबैसंग समन्वय र सहकार्य गरेर मात्रै काम गर्ने बताएका छन् । शनिबार होटल तथा पर्यटन व्यवसायी संघ रामेछापले आयोजना गरेको वनभोज तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउँका लागि जिल्ला स्थित सरोकारवाला निकायसंग आवश्यक समन्वय गरेर उद्योग बाणिज्य संघले विभिन्न योजना बाउँने र कार्यान्वयन गर्ने तयारी गरिरहेको बताए । यसैलाई ध्यानमा राखेर रामेछाप जिल्लामा संचालित होटलहरुको थप व्यवस्थापन र होटल व्यवसाय प्रवद्र्धनका लागि उद्योग बाणिज्य संघले काम गर्ने बताए । पर्यटन प्रवद्र्धनका लागि होटलको ठुलो भुमिका हुने भएकाले यसको व्यवस्थापनका लागि उद्योग बाणिज्य संघले तत्काल जिल्ला प्रशासन , जिल्ला प्रहरी , होटल तथा पर्यटन व्यवसायी संघ लगाएत सरोकार राख्ने निकायसंग छलफल गरी योजना बनाउँने उनको भनाई छ । कार्यक्रममा सहभागि होटल व्यवसायीहरुले भने होटल खोल्ने निश्चित समयावधी हुनु , सार्वजनिक यातायातका साधनको आवत जावतमा समय सिमा नहँुनु लगाएतका विभिन्न समस्याका कारण होटल संचालनका लागि समस्या भएको गुनासो गरेका थिए । उनीहरुले अन्य जिल्लाहरुमा सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लक्षित विभिन्न कार्यक्रमहरु संचालन भैरहेपनि रामेछापमा देखिने कार्यक्रम संचालन नभएकाले यसका बारेमा गम्भीर बन्न उद्योग बाणिज्य संघलाई आग्रह गरेका थिए । उनीहरुले व्यवसायीहरुको हित हुनेगरी योजना निर्माण गरी काम गर्न पनि उद्योग बाणिज्य संघका नयाँ पदाधिकारीहरुलाई आग्रह गरे । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ रामेछापका बष्ठि उपाध्यक्ष दिनेश कार्कीले रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारीहरुलाई खादा लगाएर सम्मान गरेका थिए । माघ ५ गते भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नविन थापा मगर , बाणिज्य उपाध्यक्ष दामोदर थापा , उद्योग उपाध्यक्ष भिमशेन थापा , महासचिव नवराज ढुँगेल , सचिव सुरेश उदाश र कोषाध्यक्ष पवनकुमार कठायत विजयी भएका थिए । त्यसैगरी जया सुवेदी महिला सदस्य र आकाश रिजाल आजीवन सदस्यमा विजयी भएका थिए । सुमिका श्रेष्ठ , राजु थापा , कुमार श्रेष्ठ , किशोर पौडेल र यज्ञप्रसाद सुवेदी खुला सदस्यमा निर्वाचित भएका थिए ।