प्रचारको अभावमा ओझेलमा रामेछापको स्थानापति महादेव

  • प्रकाशित मिति: शुक्रबार, माघ १७ २०७६
  • तामाकोशी

रामेछाप । माघ १७ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको ऐतिहाँसिक तथा धार्मीक तिर्थस्थलको रुपमा रहेको स्थानापति महादेव मन्दिर प्रचारको कमिको कारण ओझेलमा परेको छ । स्थानापति महादेवस्थान काठमाडौँको पशुपति, पूर्वि नेपालको हलेशी महादेव जत्तिकै महत्वको महादेव मन्दिर भएको स्थानीयको भनाई छ । यो मन्दिरको इतिहाँस ३ सय वर्षभन्दा पनि पुरानो रहेको छ । सो मन्दिरमा गई पूजा आराधना गरि ठूलो स्वरले बरदान माग्दा मागको बर पाइने विश्वास रहेको छ ।
महादेव मन्दिरमा बस्तु थारो बस्दा ब्याओस् भएनेर माग्ने तथा सन्तान नहुनेले सन्तान प्राप्तिको कामना गर्दै बर माग्ने चलन रहेको छ । मन्दिरमा बस्तुको दाम्लो चढाएर त्यही दाम्लोले महादेवस्थान परिसरको ढुँगा डोहोर्याएर घरमा ल्याउँदा वस्तुभाउ फस्टाउने जनविश्वास रहेको छ ।
भौगोलिक बिकटताको तथा प्रचार प्रशारको कमीको कारण छायाँमा परेको सो महादेवस्थानको विकासको लागि मन्थली नगरपालिकाले पुर्वाधार निर्माणको काम सुरु गरेको छ । नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिसम्म जानको लागि सिँढि निर्माण गरेको छ । त्यसैरी मन्दिर परिसमा पनि पुर्वाधार निर्माणका विभिन्न कामहरु भई रहेका छन् ।
महादेव मन्दिरलाई धार्मीक पर्यटकिय स्थानको रुपमा विकास गर्ने गरी काम भई रहेको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए । उनले बुढामाहादेव, भिमसेनस्थान र चिसापानी गढीलाई जोड्ने गरी पुर्वाधार निर्माण र विकासको काम भई रहेको बताए ।
यस महादेव मन्दिरको मा प्रत्येक बर्षको तीज तथा ठूलो एकादशीमा ठूलो मेला लाग्दछ । यी पर्वहरुमा रामेछाप जिल्लाका साथै छिमेकी जिल्लाहरु सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुँगा, काभ्रे तथा दोलखाबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।
स्थानापति बैरा महादेवको नामले परिचित यस महादेव मन्दिरलाई बुढामहादेव भनेर समेत पुकारिन्छ । महादेवस्थानमा पुगेर वर माग्ने जो कोही व्यक्तिले मागेका मनोकामना महादेवले पुरा गरिदिने जनविश्वास रहेको छ । तर वर माग्दा ठूलो स्वरले माग्नु पर्ने जनविश्वास छ ।
पहाडको टाकुरामा पर्ने महादेवस्थानबाट मनोरम दृश्यावकलोकन समेत गर्न सकिन्छ । महादेवको दर्शनसँगै पहाडका नागवेली दृश्यहरुको अवलोकन गर्न पाइन्छ । अहिले मन्दिरकै फेदीसम्म यातायात साधन पुग्ने भएकोले मन्दिर पुग्न सहज भएको छ । मन्दिरको फेदीबाट आधा घण्टा सिँढि चढेपछि मन्दिरमा पुग्न सकिन्छ ।
मन्दिरको प्रचार गरि आवास सहितको पुर्वाधार निर्माण गर्न सके पर्यटकहरु आकर्षित गर्न सकिने सम्भावना रहेको छ ।