रामेछाप । माघ १६ गते,
देश र जनताको मुक्तिको लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर जस्तै रामेछापमा पनि विहिबार शहीद दिवस मनाइएको छ । मन्थलीको तीनलाल पार्कमा रहेको सहिदहरुको सालिकमा माल्र्यापण गर्दै शहीदहरुलाई स्मरण गरिएको हो ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे, गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, विभिन्न राजनैतिक दलका नेता लगाएत नागरिक समाजका अगुवाहरुले शहीदहरुको सालिकमा माल्र्यापण गरेका थिए ।
देश र जनताको हित र अधिकार तथा नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ सालको माघ महिनामा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्दसंगै रामेछापका गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएका थिए । 
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष एक हप्तासम्म शहीद सप्ताह मनाइँदै आएको छ ।
रामेछापमा पनि शहीदहरुको सालिकमा माल्र्यापन गरि शहीद दिवस मनाइयो
- प्रकाशित मिति: बिहिबार, माघ १६ २०७६
- तामाकोशी