काठमाण्डौ । जेठ २० गते,
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा विप्लव समूहका कार्यकर्ताले आक्रमण प्रयास गरेको खबर सत्य नभएको बताएका छन् । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले महाकुलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको सूचना भने पाएको बताए ।
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पनि केही दिन अघिदेखि गाउँमा नौला मानिसको गतिविधि बढेको र उनीहरुलाई सोधपुछसमेत भएको बताए । विप्लव कार्यकर्ताको झण्डै ३० जनाको समूह आइतबार राति १२ बजेतिर हतियारसहित प्रहरी चौकीमा पुगेको र आक्रमणको सूचना पाएपछि प्रहरी पहिले नै सुरक्षित स्थानमा गएकोले घटना हुन नपाएको स्थानीय बासीन्दाले बताएका छन् । सोमबार दिउँसो पनि त्यस क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरले गस्ती गरेको स्थानीयको भनाइ छ । बिहानैदेखि स्थानीयबासीन्दामा भने त्रास फैलिएको थियो । अहिले महाकुलुङ गाउँपालिकामा चहलपहलसमेत कम भएको स्थानीय बासिन्दाको भनाइ छ । सरकारी पक्षले आक्रमण प्रयास भएको पुष्टि नगरे पनि गाउँमा गतिविधि बढेकोले आफूहरुलाई चिन्तित बनाएको सर्वसाधारणहरुको भनाइ छ ।
सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण प्रयास हल्ला मात्रै भएको गृह मन्त्रालयका प्रवक्ताको भनाई
- प्रकाशित मिति: सोमबार, जेष्ठ २० २०७६
- तामाकोशी