काठमाडौँ, १९ जेठ । धुर्मुस(सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्किएपछि दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । आइतबार आफ्नो फेसबुकमा ‘रङ्गशालाका विषयमा हाम्रो अपिल’ शीर्षकमा एक लामो स्टाटस पोष्ट गर्दै उनले माफी मागेका हुन् ।
उनले अपिलमा लेखेका छन् ‘हामीले आक्रोशमा आएर अञ्जानमा केही गलत बोलेको भए वा कर्सैमाथि ठोस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं ।’ रंगशाला निर्माणस्थलमा स्थानीयले डोजर लगाएर बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेसनको तर्फबाट सार्वजनिक भिडियोमा स्थानीयप्रति निकै आक्रोश व्यक्त गरिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि धुर्मुस सुन्तली फाउन्डेसनको स्थानीयको तर्फबाट विरोध गरिएको थियो ।
सार्वजनिक अपिलमा लेखिएको छ, ‘पवित्र उद्धेश्य राख्दाराख्दै पनि कसैको मनमा केही कारणले चोट परेको भए त्यस्ता भूलप्रति हामी क्षमाप्रार्थी छौं ।’
उनले आफूहरुको कसैप्रति कुनै पूर्वाग्रह नभएको र आगामी दिनमा नरहने पनि बताएका छन् । साथै, उनले आफूहरुको अभिव्यक्ति घटना घटाउने मानिसप्रति लक्षित भएको र स्थानीयसँग कुनै गुनासो नरहेको उल्लेख गरेका छन् ।
‘मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । कमजोरी भए सच्याएर अगाडि बढ्ने कुरामा पनि प्रतिबद्ध छौँ । अहोरात्र खटिरहँदा सहयोगी मनहरुको रगत र पसिनामाथी डोजर चल्दा जो पनि आक्रोसित हुनु स्वभाविक हु्न्छ’, उनले भनेका छन्, ‘हामीले आक्रोसमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथी ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं । जसले घटना घटायो, हाम्रो अभिब्यक्ति उसमा मात्र लक्षित हो । स्थानिय प्रति हाम्रो केही गुनासो छैन ।’
घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन् । कसैको घर जग्गा बाटोमा जान्थ्यो भने पहिलो आवाज उठाउने ब्यक्तिनै हामी हुन्थ्यौं । सो ठाउँमा रङ्गशालाकै कारणले कसैको जग्गा जाने, कसैको घर उठिवास हुने अवस्था पनि छैन । र हाम्रो संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर यो काम आँटेका हौँ । काममा बाधाव्यवधान नआउने हो भने हामी भनेकै मितिमा पूरा गर्न सक्नेछौँ ।
ज्ञानबस वा अज्ञानताबस जसले यो गल्ती गरेको भए पनि आगामी दिनमा नगरिदिनुहुन अनुरोध गर्दछौँ । रंगशालाको पक्ष र विपक्ष भएर एउटै परिवारका हामी सबै नेपाली विभाजन नभइदिन र अनावश्यक झैझगडामा नलागीदिन हामी सबैँमा आग्रह गर्दछौँ ।
अन्त्यमा, जे नहुनु थियो त्यो भयो । अब त्यसमा पछुतो, वादविवाद र टिकाटिप्पणी गरेर घटनालाई गिजोल्ने गरेर समय व्यतित गर्नुभन्दा आगामी दिनमा यस्तरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागीदिन र अभियानको अभियान्ता बनिदिनुहुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ ।
साथै स्थानिय महानुभावहरुले हामीलाई बार लगाईदिने र काम सुचारु गर्न बातावरण तयार गर्ने प्रतिबद्धता जनाईसक्नु भएकाले गर्दा स्थानिय महानुभावहरु, भरतपुर महानगरपालिका साथै नेपाल सरकारलाई छिटो भन्दा छिटो रङ्गशालाको काम अगाडि बढाउन अनुकुल बातावरण श्रृजना गरिदिनुहुन अनुरोध गर्दछौं । सो भएमा हामी चाँडै पहिले जस्तै काममा फर्किने पनि जानकारी गराउन चाहान्छौं । यो समाचार दैनिकनेपालबाट साभार गरिएको हो ।

