रामेछापको सैपुमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना गम्भीर

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १८ २०७६
  • तामाकोशी

रामेछाप । जेठ १८ गते,
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर २ सैपुमा शनिबार यात्रुबहाक बस दुर्घटना भएको छ । ओखलढुंगा जिल्लाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ५०६७ नम्बरको अरनिको यातायातको बस सैपुमा दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् भने गाडी चालकको सावधानीले करिब ३२ जना यात्रुको ज्यान बचेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले ओखलढुंगा रगनीकी सुनीता राई, सपना राई, लिखु तामाकोशी गाउँपालिका सैपुका धनकुमारी पौडेल, टंकनाथ पौडेल,थरहरी पौडेल, सुमित्रा पौडेल गम्भीर घाइते भएको जानकारी दिए । उनका अनुसार घाइतेहरुको स्थानीय स्वास्थ्य चौकी सैपुमा प्राथमिक उपचार गरी दुईवटा एम्बुलेन्समार्फत धुलिखेल अस्पतालमा रिफर गरिएको छ । घाइतेहरुको पाखुरा, टाउँको र खुट्टामा चोट लागेको छ । बसमा सवार घाइते थरहरि पौडेलका अनुसार गाडीमा ३२ जना भन्दा बढी यात्रुहरु रहेका थिए । दुर्घटनाको केही समय अगाडी बसको टायर पन्चड भएको बसरमा सवार यात्रुहरुले बताए । गाडी चालक मन्थली नगरपालिका–७ का गोपाल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।