लेखा समितिको बदनाम !प्रहरी कारबाहीबाट बच्न सुष्माको नयाँ काण्ड

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १६ २०७६
  • तामाकोशी

काठमाडौं, १६ जेठ । साइबर अपराध र मानहानीको मुद्धाबाट जोगिन ‘द काठमाडौं मल व्यापार संघ’की अपदस्थ अध्यक्ष सुष्मा महराले संसदको सार्वजनिक लेखा समितिको पत्रलाई दुरुपयोग गरेको खुलासा भएको छ ।

सुष्माविरुद्ध आफ्नै पूर्व व्यापारिक साझेदार प्रकाशकुमार श्रेष्ठले महानगरीय प्रहरी परिसर टेकुमा साइबर क्राइम र मानहानीको उजुरी दिएपछि अनुसन्धान चलिरहेकै बेला लेखा समितिको पत्र दुरुपयोग गरेर प्रहरीलाई प्रभावमा पार्न खोजेको रहस्य बाहिर आएको हो ।



साइबर अपराध र मानहानीको विषयमा नराम्रोसँग फसेकी सुष्माले कारबाहीमा पर्ने डरले बिरामीको नौटंकी गरेको आरोप पीडित पक्षको छ । प्रहरीले साइबर क्राइम र मानहानीको विरुद्ध परेको उजुरीलाई सफाइ दिने खालका प्रमाण ल्याउन आदेश दिएको थियो । आफै फस्ने डरले गर्दा सुष्माले लेखा समितिको पत्र गलत प्रशंगमा देखाउने गरेको आरोप छ ।

सुष्मालाई खुर्सानीको धुँवा काण्ड, साइबर क्राइम र मानहानीको उजुरीका विषयमा गत आइतबार टेकुमा बोलाएर प्रहरीले केरकार गरेको थियो । सुष्मासँगै उनका पति उज्वलजंग शाहसँग पनि प्रहरीले बयान लिएको थियो ।

काठमाडौं मलको चौथो तलामा सुष्मा र प्रकाशको नजिक–नजिक ब्युटी पार्लर र फेसियल हाउस छन् । प्रकाशको फेसियल हाउसलाई असर पर्ने गरेर सुष्माले खुर्सानीको धुँवा बनाएर विवाद झिकेपछि वैशाख ३ गते साँझ कुटाकुटको अवस्था सिर्जना भएको थियो । सोही विषयलाई लिएर सुष्मा र प्रकाशबीच प्रहरीमा मुद्धा चलिरहेको छ । यो विषयमा सुष्माले लेखो समितिको कुरालाई ल्याएर जोड्ने गरेकी छिन् ।

सुष्माको गलत क्रियाकलापले गर्दा तीन हप्ता अगाडि काठमाडौं मलका व्यापारीहरूको विशेष भेला गरी अध्यक्ष पदबाट हटाएर नयाँ कार्यसमिति बनाएको थियो । लेखा समितिले सुष्मालाई सुरक्षा दिनुभनेर गृहमन्त्रालयलाई लेखेर पठाएको पत्र प्रकाश श्रेष्ठको उजुरीको हकमा लागू हुँदैन । तर, सुष्माले सोही पत्र देखाएर प्रहरीलाई ब्ल्याक मेलिङ गरेको स्रोतले जनाएको छ ।

संसद सचिवालयका प्रवक्ता एवम् सार्वजनिक लेखा समितिका सचिव रोजनाथ पाण्डेले लेखा समितिले लेखेको पत्र विशुद्ध काठमाडौं मलभित्रको उजुरीमा केन्द्रित रहेको बताए । उनले लेखा समितिको पत्र सोही विषयमा मात्रै केन्द्रित रहेको जानकारी दिए ।

‘उहाँले कहाँ के गर्नु हुन्छ हामीलाई थाहा हुने विषय होइन’, उनले भने, ‘लेखा समितिमा सुष्माज्यूले मेरो ज्यानको खतर छ भनेपछि हामीले गृहलाई पत्र लेखेको हो । तर, उहाँले गरेका अन्य विषयको हकमा यो पत्र लागू हुँदैन । प्रहरी र न्यायिक निकायले उहाँका विरुद्ध परेका उजुरीमा अनुसन्धान वा आफ्नो कारबाही गर्न पाउँछ ।’

सार्वजनिक लेखा समितिका सभापति भरत शाहले पनि काठमाडौं मलको उजुरी आएको बताए पनि उजुरिकर्तालाई सबै गलत कुराबाट बचाउनका लागि आफूहरूले गृहमन्त्रालयलाई पत्र नलेखिएको बताए ।

‘सबै नागरिकले शान्ति सुरक्षा पाउनुपर्छ’, शाहले भने, ‘तर हाम्रो पत्र देखाएर सबैतिर गलत कार्य गर्न पाइँदैन । दुरुपयोग गर्नु हुँदैन । प्रहरीमा कसैका विरुद्ध उजुरी परेको छ भने अनुसन्धान र कारबाही गर्ने दायित्व र कर्तव्य प्रहरीको हो ।’

खुर्सानीको धुँवा, साइबर क्राइम र मानहानीको मुद्धाका विषयमा प्रहरीले जेठ १४ गते मंगलबार सुष्मा र प्रकाशलाई छलफलका लागि टेकुमा बोलाएको थियो । तर, बिरामी भएको बहाना बनाएर सुष्माले सार्वजनिक लेखा समितिको पत्र देखाउँदै टेकु प्रहरीको आदेश समेत उल्लंघन गरेकी छिन् ।

अहिले सार्वजनिक लेखा समितिको पत्रलाई सामाजिक सञ्जाल र अनलाइनहरूमा राखेर दुरुपयोग गरेकी छिन् ।

सुष्माले सार्वजनिक लेखा समितिको पत्रलाई व्यापारी प्रकाश श्रेष्ठसँगको मुद्धामा लगेर जोडेपछि सुष्मामाथि विभिन्न खालका प्रश्न उब्जिएको छ ।

उता, काठमाडौं प्रहरीले सुष्मालाई निगरानीमा राखेको छ । प्रहरीले बोलाउँदा अटेर गरेर नआएपछि उनका हरेक गतिविधिमा नजिकबाट निगरानी गरिरहेको उच्च स्रोतले जनाएको छ ।

‘सुष्माजीले कहिले सम्माननीय सभामुखज्यूको नाम लिनु हुन्छ । कहिले सम्मानित लेखा समितिको नाम लिनुहुन्छ’, एकजना प्रहरी अधिकृतले भने, ‘उजुरीका विषयमा छलफलका लागि बोलाउँदा आउनु हुन्न । बिरामी भए भन्नुभयो । हामीले मान्यौँ । तर, अस्पतालमा बसेर लेखा समितिको पत्र मिडियामार्फत देखाउनु हुन्छ । उहाँका हरेक क्रियाकलप शंकास्पद हुँदै गएका छन् ।’

काठमाडौं मलभित्र भ्रष्टाचार भएको दाबी गर्दै आएकी सुष्माले माओवादी पृष्ठभूमि भएका नेकपाका सांसद लेखराज भट्टमार्फत लेखा समितिमा उजुरी दिएकी थिइन् ।

सुष्माले काठमाडौं मलभित्र आफैले चलाउँदै आएको फेसियल हाउसले वर्षौंदेखि कर छली गरेको काण्डका लुकाउन चाहन्छिन् । भ्रष्टाचारको कुरा उठाउने सुष्माले किन कर छली गरिन् भनेर धेरैले विभिन्न खालका अड्कलबाजी गर्न थालेका छन् । लेखा समितिले छानविन गरिरहेको विषयलाई सुष्माले पटक–पटक आफ्नो व्यक्तिगत स्वार्थमा लगेर जोड्नुलाई काठमाडौं मलका व्यापारीहरूले नै आश्चर्यका रुपमा लिएका छन् ।

केही दिन अगाडि काठमाडौंमा मलमा वाणिज्य विभागका कर्मचारीहरूले छापामारेका थिए । त्यस क्रममा कर छली गरेको प्रमाणहरू फेला परेपछि सुष्मालाई कर्मचारीहरूले ठाउँको ठाउँ दश हजार नगद जरिवानासहित कारबाही गरेका थिए । उनलाई विभागमा हाजिर हुन भन्दै पत्र पनि थमाइएको थियो ।

आफ्नै कारण र अभिव्यक्तिले चौतर्फी घेराबन्दीमा परेकी सुष्माले जनसेवा प्रहरी न्युरोडका प्रहरी प्रमुख डिएसपी बासुदेव खतिवडालाई समेत पचास लाख पैसा लिएर आफूलाई हत्या गर्ने योजना बनाएको भनेर आरोप लगाएकी थिइन् । सुष्माले मासिक दश लाख घुस लिएको भनेर समेत आरोप लगाउन भ्याइसकेकी छिन् ।

यो विषयमा टेकु प्रहरीले प्रमाण मागेको छ । आरोप पुष्टि हुने प्रमाण दिन नसके सुष्मा यो काण्डमा पनि फस्ने पक्का छ । दैनिक खबरबाट साभार