सिन्धुपाल्चोक । जेठ १५ गते,
२०७२ सालको भूकम्पपछि पहिलोपटक चीनबाट सामान बोकेर नेपाली कन्टेनर नेपाल आइपुगेका छन् । भन्सारको औपचारिक उद्घाटन बुधबार भए पनि मंगलबार नै ४ वटा नेपाली कन्टेनर सामान ल्याउन चीनको खासाबजार गएका थिए । ४ वटै कन्टेनर दिउँसो १ बजेतिर लार्चामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको तातोपानी भन्सार कार्यालयको इन्टरमोडल क्वारेनटाइन कार्यालयका वरिष्ठ अधिकृत कमल ज्ञवालीले जानकारी दिए । तातोपानी भन्सार पूर्ण रुपमा सञ्चालनमा आउने भएपछि स्थानीय होटल तथा बजारमा चहलपहल बढ्न थालेको छ ।
चीनबाट सामान बोकेर कन्टेनर नेपाल आइपुगे पनि तत्कालै भन्सार जाँचपास भने नहुने भएको छ । लार्चामा चीनले बनाइदिएको अत्याधुनिक सुख्खा बन्दरगाहमा भन्सारका लागि आवश्यक प्रणाली र उपकरण जडान भैसकेको छैन । १ सय ८२ वटा कन्टेनर पार्किङ गर्न मिल्ने अत्याधुनिक लार्चा बन्दरगाह चीन सरकारले १२ करोड ७० लाख युआन खर्च गरी निर्माण गरिदिएको हो । नेपाल–चीन जोड्ने प्रसिद्ध उत्तरी नाकाको रुपमा चिनिने अरनिको राजमार्ग २०७१ सालमा जुरेमा आएको पहिरोका कारण आशिंक रुपमा ठप्प भएको थियो भने २०७२ सालको भुकम्पपछि पूर्ण रुपमा ठप्प भएको थियो । पहिला यो नाकाबाट वर्षको २० अर्ब रुपैयाँ बराबरको आयात र साढे २ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार हुँदै आएको थियो ।
चीनबाट सामान बोकेर ४ वटा कन्टेनर तातोपानी आइपुग्यो, स्थानीयमा खुशीयाली
- प्रकाशित मिति: बुधबार, जेष्ठ १५ २०७६
- तामाकोशी