सोलुखुम्बु । जेठ १४ गते,
सोलुखुम्बुमा जनता आवास कार्यक्रम अन्योलमा परेको छ । जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय अभावमा अन्योलमा परेको हो । आर्थिक रूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि घर निर्माण गर्न थालिएको जनता आवास कार्यक्रमअन्तर्गत सोलुखुम्बुमा चालु आर्थिक वर्ष भित्र ४० वटा घर बनाउने प्रदेश सरकारको योजना थियो । प्रदेश सरकारबाट विनियोगित ८० लाख रुपैयाँ बजेटमा जिल्लाको ८ ओटै स्थानीय तहमा ५र५ ओटा घर बनाउने भनिएको थियोे । तर आर्थिक वर्षको समापन हुनै लाग्दा समेत जिल्लाका अधिकांश स्थानीय तहका प्रमुखहरु जनता आवास कार्यक्रमका बारेमा बेखबर बनेका छन् । 
आर्थिक रूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि घर निर्माण गर्न लागि आएको रकम समेत स्थानीय सरकार तथा अन्य जनप्रतिनिधिबीच समन्वय हुन नसक्दा फ्रीज हुने सम्भावना बढेको देखिएको छ । प्रदेश सरकारले बजेटको ब्यवस्थापन गरे पनि स्थानीय सरकार प्रमुखहरुले चासो नदिएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले बताउनुभयो । यता स्थानीय सरकार प्रमुखहरुले भने प्रदेश सरकारले सिधै स्थानीय तहहरुलाई बजेट पठाउन नसक्दा अन्योलमा परेको बताएका छन् । बजेटमा जनता आवास कार्यक्रम समावेश गरेको भए पनि अहिलेसम्म कुनै प्रकृया अघि बढ्न नसकेको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राइले बताउनुभयो । प्रदेश सरकार कै स्पष्ट नीति हुन नसक्दा कार्यक्रम अघि बढ्न नसकेको नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताउनुभयो ।
सोलुखुम्बुमा जनता आवास कार्यक्रम अन्योलमा
- प्रकाशित मिति: मंगलबार, जेष्ठ १४ २०७६
- तामाकोशी