१३ जेठ, काठमाडौं । सुकेधारा बम विस्फोटमा मृत्यु भएका तीनै जना नेकपा विप्लव समूहका कार्यकर्ता भएको खुलेको छ । सुकेधारास्थित एक सैलुनमा बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा ५ जना घाइते भएका छन् ।
घटना भएको झण्डै २४ घन्टासम्म मृतकको पहिचान खुल्न सकेको थिएन । सोमबार तीनै जनाको सनाखत भएको प्रहरी स्रोतले जनाएको छ । मृत्यु हुनेमा २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक, ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको रहेका छन् ।