सरिता हत्या प्रकरण अर्को रुप ! बुढाबुढी सहित परिवारका सबै जेल चलान

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १२ २०७६
  • तामाकोशी

काभ्रे — मण्डन देउपुर-६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा संलग्न भएको अभियोगमा श्रीमान् सुदीपसहित परिवारका ५ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।न्यायधीश दुर्गा खड्काको इजलासले श्रीमान सुदीप सहित ६३ वर्षीय सुसुरा पिताम्बर, ६५ वर्षीया सासु रोमकुमारी, ३६ वर्षीया जेठाजु केशव र ३५ वर्षीया जेठानी संगीतालाई मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन, २०७४ को दफा ८० बमोजिम काराकार चलान गर्ने आदेश भएको श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिए ।

हत्यामा परिवारका ५ नै जनाको संलग्ना देखिएकोले कर्तव्य ज्यान मुद्दा चलाउने जिल्ला प्रहरी कार्यलय काभ्रेको रायको आधारमा जेठ ७ गते सरकारी वकिलको कार्यलयले आरोपितको बयान समेतलाई आधार बनाएर उनीहरुका विरुद्ध अभियोगपत्र दायर गरेको थियो ।वैशाख १३ गते बिहान घाँटीमा निलडाम भएको अवश्थामा सरिताको शव घरमा नै प्रहरीले फेला पारेको थियो । फरार रहेका उनका श्रीमान सुदीपलाई प्रहरीले पक्राउ गरेको थियो । मृतकका दाजु कृष्णप्रसाद दाहालको किटानी जाहेरीका आधारमा परिवारका अन्य सदस्यको पनि संलग्नता हुन सक्ने भन्दै अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।



सुदीपले श्रीमतीसँग झगडा पर्दा कुटपिट गरेको र गुलेलीको रबरले घाँटी बाँधेर तानेको र बाबु र दाजुले हात खुट्टा समाएको बयान दिएको प्रहरीले जनाएको छ । अदालतमा भने उनले बयान फेरका थिए ।अन्यको संलग्नता नभएको बयान सुदीपले गरेतापनि बुबाले हात, दाजुले दुवै खुट्टा समातेपछि कोठाको दलिनमा भएको गुलेलीले घाँटीमा दुई फन्का बेरी कसेर हत्या गरेको बयानको क्रममा प्रहरी समक्ष स्वीकारेका थिए । लागूऔषध दुर्व्यसनमा समेत रहेका सुदीप र सरिताबीच बच्चा नजन्मिएको विषयमा विवाद हुँदै आएको खुलेको छ ।