रामेछाप । जेठ ५ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको २ वटा स्वास्थ्य संस्था र २ वटा विद्यालयहरुमा नागरिक स्तरको अनुगमन गरिएको छ । ती संस्थाहरुले प्रवाह गरेको सेवाको प्रभावकारीताको बारेमा जानकारी लिन सो अनुगमन गरिएको हो ।

मानवअधिकार संरक्षण सञ्जाल (शिक्षा सञ्जाल) रामेछापले जिल्लाका खाँडादेवी गाउँपालिकाको विभिन्न स्थानमा रहेको विद्यालय र स्वास्थ्य संस्थाहरुको अवलोकन अनुगमन गरेको छ । आइतबार सञ्जालका संयोजक पाण्डव प्रसाईको नेतृत्वमा गएको टोलीले खँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुममा रहेको माकादुम स्वाथ्य चौकी, वडा नं ५ को पकरवास स्वास्थ्य चौकी तथा वडा नं ५ को प्रयागेश्वर माध्यामिक विद्यालय र वडा नं ६ को वुद्ध भवानी माध्यामिक विद्यालय माकादुमको अनुगमन गरेको हो ।
टोलीले स्वास्थ्य संस्थाले प्रवाहा गरिरहेको सेवाको अवस्था , स्वास्थ्य संस्थामा देखा परेको समस्या र सरकारले उपलब्ध गराएको निशुल्क औषधीहरुको उपलब्धताका बारेमा समेत छलफल गरेको थियो । मानवअधिकार सचेतना तथा विकास केन्द्र ( हुराडेक) दोलखाको साझेदारीमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजनाको सहयोगमा मानवअधिकार सञ्जालले गरेको अनुगमन टोलिले प्रयागेश्वर माध्यामिक विद्यालय पकरबास र वुद्ध भवानी माध्यामिक विद्यालय माकादुमको शैक्षिक अवस्था , शिक्षक विद्यार्थीहरुको अवस्था र भौतीक संरचनाहरुको अवस्थाका बारेमा जानकारी लिई विद्यालयको शिक्षा सुधारका लागि भएका काम र आवश्यक पहल कदमीका बारेमा शिक्षकहरुसंग छलफल गरेको हुराडेक नेपाल दोलखाका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले जानकारी दिए ।
टोलिमा गैसस महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेल, आदिवासी जनजाति महासंघ रामेछापका पूर्वअध्यक्ष खड्गबहादुर आले, नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ, राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमका प्रतिनिधिहरु, अभियानकर्ता लगायतको सहभागिता रहेको थियो ।
