हुम्ला । हुम्लामा परम्परागत तान लोप हुँदै गएको छ । आयातित कपडा सहजरुपमा उपलब्ध हुनु, भेडा, बाख्रा र च्याङ्ग्रा पाल्ने घट्नु र कपडा बुन्ने सीप नयाँ पछिल्लो पुस्तामा हस्तान्तरण नहुनुजस्ता कारणले परम्परागतरुपमा कपडा उत्पादन गर्ने पेशा संकटमा परेको हो ।
हुम्लाको उत्तरी तथा मध्य क्षेत्रमा ऊन र दक्षिणी क्षेत्रमा कपासका कपडा बुन्ने चलन थियो । आफै प्रयोग गर्ने र विक्रि गरेर आम्दानीसमेत गर्ने स्थानीयको यो परम्परागत पेशा अहिले भने लोप हुने अवस्थामा पुगेको छ । आयातित कपडाको सहज उपलब्ध हुनु, खर्कको अभावमा भेडा, च्याङ्ग्रा पाल्नेक्रम घट्नु, उत्पादनका लागि बढी परिश्रम र समय लाग्नु तथा लागतसमेत उच्च हुनुजस्ता कारणले परम्परागत पेशा संकटमा परेको हो ।
पहिला एकै घरमा ४/५ वटा लगाइन्थ्यो । तर, अहिले स्वास्थ्यका लागि फाइदाजनक मानिने ऊनी कपडा मुस्किलले मात्रै पाइन्छ । सीप सिकेर दुःख गर्नुभन्दा पैसा भए राजेको कपडा पाइने भएकाले पनि पछिल्लो पुस्ता यो पेशमा आकर्षित छैन । तानबाट बनेका कपडा हुम्लाका प्रायः सबै समुदायले शुभकार्यका बेला प्रयोग गर्छन् । तर, मूल्य महंगो छ । प्रति बख्खुको ३०–३५ हजार, काम्लोको २०–२२ हजार, कोटको २५–३० हजार र पटुकाको १०–१५ हजार पर्छ । सामान्य आर्थिक अवस्थाका व्यक्तिले किन्नै नसक्ने भएकाले पनि यो पेशा संकटमा परेको हो ।
एउटा पाखीका लागि धागो कात्न ४/५ महिना लाग्छ । बुन्न पनि कम्तिमा ३० दिन खर्चिनु पर्छ । यसरी ५÷६ महिना लगाएर एउटा पाखी बुन्नभन्दा बजारमा पाईने कपडा किन्न सजिलो हुने भएकाले तान ब्यबसाय लोप हुन थालेको स्थानीय बताउँछन् । स्थानीय तहले प्रोत्साहित गर्ने भने पनि व्यवसायीकरुपमा कपडा उत्पादन गर्ने प्रस्ताव कसैले नल्याएको अदानचुली गाउँपालिकाले जनाएको छ । प्रशस्त ऊन पाइने र उत्पादित सामान सहज विक्रि हुने व्यवस्था भए हुम्लाको यो परम्परागत पेशा तङ्ग्रिने स्थानीयको विश्वास छ । जनक बहादुर शाही !!