मन्थलीमा बालबालिका बेचबिखन विरुद्ध वृत्तचित्र पदर्शन

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३ २०७६
  • तामाकोशी

रामेछाप । जेठ ३ गते,कैलाश खत्री ,
रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार बालबालिका बेचबिखन विरुद्ध वृत्तचित्र पदर्शन गरिएको छ । सदरमुकाम मन्थली स्थित मन्थली माध्यामिक विद्यालयको मिडियाहलमा वृत्तचित्र देखाइएको हो । सर्कस काठमाडाँै नामक संस्थाले वृत्तचित्र देखाएको हो । वृत्तचित्रमा नेपालका विभिन्न ग्रामिण क्षेत्रबाट सर्कसमा काम दिन्छुभन्दै भारत लगेर विभिन्न काममा लगाई पीडा बोक्न बाध्य भएका बालबालिकाले भोगेका वास्तविक घटनाहरुलाई सचित्र वर्णन गरिएको छ ।
त्यस्तो घटना भोगेका र अहिले त्यस वृत्तचित्रमा अभिनय गरेका कलाकारहरुको समेत उपस्थितीले सहभागिहरुले यथार्थ विवरण बुझेका थिए । वृत्तचित्र हेर्नका लागि जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्माण भुजेल , नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की लगाएत जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालत , जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख उपेन्द्र बहादुर बुढाथोकी , मन्थली माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक पेशल आचार्य , पत्रकार महासंघ ३ नं प्रदेश सदस्य बद्री नयाघरे , जिल्ला अध्यक्ष रमेश ढुंगेल लगाएतको सहभागिता रहेको थियो । त्यस्तै वृत्तचित्र हेर्नका लागि मन्थली माविका विद्यार्थी,तामाकोशी आवाशिय विद्यालयका विद्यार्थी , शिक्षक , जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कचहरी नाटक समेत प्रस्तुत गरिएको थियो । वृत्तचित्र हेरेपछि सहभागिहरुले नेपाली बालबालिकाहरुले भोग्नुपरेको जटिल समस्यालाई रोक्न सारोकारवाला निकाय बेलैमा सचेत हुनुपर्ने बताएका थिए ।