मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकार महासंघ रामेछापले मन्थलीमा प्रदर्शन गर्दै

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३ २०७६
  • तामाकोशी

रामेछाप । जेष्ठ ३ गते,
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्ध शुक्रबार बृहत प्रदर्शन गर्ने भएको छ । पहिलो चरणको आन्दोलनको अन्तिम दिन (शुक्रबार) विहान ७ बजे सदरमुकाम मन्थलीको देवकोटा चोकमा पत्रकार तथा सञ्चारमाध्ययमहरुले प्रयोग गर्ने सञ्चार साधनहरु सहित बृहत प्रदर्शन गर्न लागिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेलले बताए । संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्धको आन्दोलनमा सशक्त सहभागिता जनाउँन जिल्लाका सवै सञ्चार माध्ययम तथा पत्रकारहरुलाई पत्रकार महासंघ रामेछापले आग्रह समेत गरेको छ । विधेयकसहितका कानुनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित हुँदै आएको छ। पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको पत्रकार महासंघ रामेछापले जनाएको छ ।