रामेछाप । बैशाख २५ गते,
नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले प्रदेश र स्थानीय सरकारको अधिकार खोसी केन्द्रिकृत शासन सत्ता लाद्न खोजेको आरोप लगाएका छन् । उनले केन्द्र सरकारले स्थानीय सरकारको अधिकार धमाधम खोस्दै सरकार केन्द्रिय अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाए । 
नेपाली काँग्रेस रामेछापका महाधिवेसन प्रतिनिधि भरत चौलागाईँले रामेछाप नगरपालिकालाई उपलब्ध गराएको सववहान हस्तान्तरण गर्न रामेछाप बजारमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता पौडेले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको दोहोर्याए ।
कार्यक्रममा बोल्दै पौडेलले न्यायपालिका, व्यवस्थापिका र अख्तियारलाई समेत मुट्ठिमा लिएर सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको आरोप लगाए । उनले सर्वसत्तावादको प्रयोग गर्न सरकारले राष्ट्रपतिलाई समेत प्रयोग गरेको बताए ।
पौडेलले सरकार देशमा सुरक्षा, सुशासन र समृद्धि दिन समेत असफल भएको बताए । लोकतन्त्रात्मक शासन व्यवस्था विपरितको निरंकुस एकतन्त्रात्मक शासन व्यवस्थाका पक्षपाती कम्युनिष्टहरुले शासन सत्ता सम्हालेकोले देश अधोगति तर्फ लागेका उनले बताए ।
पौडेलले काँग्रेस पार्टी भित्र पनि एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी विग्रिएको बताए । देशलाई राम्रो बनाउन काँग्रेस पहिला राम्रो हुनु पर्ने उनले बताए । 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले वर्तमान सरकारका नेताहरु प्रचारमूखि र सुविधा भोगि भएर देशको अर्थतन्त्र तहस नहस पारेको आरोप लगाए । उनेले संवीधान बने पनि देशमा संक्रमण अन्त नभएकोले संविधान कार्यान्वयनमा सरकारको ध्यान जानु पर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादव, पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, जिल्ला सभापति लवश्री न्योपाने, नेताहरु जीतबहादुर मगर, रत्न कार्की, रामेछापका नगरप्रमुख नरबहादुर मगर, लगायतले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेस रामेछाप नगर समिति सभापति कमल विक्रम कार्कीको अध्यक्षतामा भएको थियो ।
सुरक्षा, सुशासन र समृद्धि दिन सरकार असफल भयो : रामचन्द्र पौडेल
- प्रकाशित मिति: बुधबार, बैशाख २५ २०७६
- तामाकोशी