सिन्धुलीको कमला नदीमा अलपत्र रहेको पुल निर्माणको काम फेरी सुरु हुने

  • प्रकाशित मिति: बुधबार, बैशाख १८ २०७६
  • तामाकोशी

सिन्धुली । वैशाख १८ गते,
सिन्धुलीको दुधौली नगरपालिकास्थित कमला नदिमा ८ वर्षदेखि अलपत्र अवस्थामा रहेको पक्की पुलको निर्माण कार्य सुरु हुने भएको छ । जनप्रतिनिधीहरुले तदरुत्ता देखाएसँगै पुलको निर्माण कार्य सुरु हुने भएको हो । दुधौली नगरपालिका वडा नम्बर २ र ३ जोड्ने पक्की पुलको निर्माणका लागि लुम्बिनी कन्स्ट्रक्सनले जिम्मा पाएको दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउते बताए । पप्पु कन्स्ट्रक्सनले कामै नसकि विचमै अलपत्र अवस्थामा छोडेपछि ८ वर्षदेखि पुल निर्माण हुन सकेको थिएन ।



लुम्बिनीले अब अलपत्र पुलको काम नलाग्ने भएका स्पान लगायत रडहरु सबै नयाँ हाल्ने र पुलको इस्टमेट पहिलेकै अनुसार हुने बताइएको छ । अहिले लुम्बिनी कन्स्ट्रक्सनले स्पानको काम नलाग्ने रडहरु भत्काएर हटाउने काम सुरु गरीसकेको छ । आठ बर्षअघि तामझामसहित औपचारिक रुपमा शिल्यान्याश भएको पुलको आधा पनि काम हुन नसकेपछि स्थानीय निरास भएका थिए। विश्व बैंकको ३२ करोड आर्थिक सहयोगमा आर्थिक बर्ष ०७२÷०७३ मै निर्माण सम्पन्न हुने गरी पप्पु–लुम्बीनी जेभिले उक्त पुल निर्माणको जिम्मा लिएको थियो । तर जिम्मा लिएपनि लामो समयदेखि पुल अलपत्र परेपछि दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले पुलको निर्माण गर्नका लागि पटक पटक दबाब दिएका थिए । कामको जिम्मा लिएर बर्षौदेखि योजना अलपत्र पार्ने ठेकेदारलाई कारवाही गर्ने सरकारको योजना रहेको समयमा पुल अलपत्र रहेको भन्दै गृहमन्त्रालयसम्म नगरप्रमुख राउत पुगेका थिए । पाँच सय ४६ मिटर लामो उक्त पुलको पिल्लरको काम चार बर्ष अगावै सकिएको भएपनि बाँकी काम हालसम्म हुन नसकेको दुधौली नगरपालिकाले जनाएको छ ।